अस्ताए संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ

  डेटूडे खबर डेस्क
  २६ भदौ २०८०

                            

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । उनको हृदयघातबाट निधन भएको एमालेले जानकारी गराएको छ ।

बालुवाटारस्थित निवासमै उनको हृदयघात भएको थियो । त्यसपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा निधन भएको हो । उनलाई साढे १ बजे हृदयघात भएको र अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङको परिवारले जानकारी दिएका छन् ।

उनको मृत्युको खवर लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायतका नेताहरु अस्पताल पुगेका थिए ।

२००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा जन्मिनु भएका नेम्वाङको २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य हुनु भएका थिए । २०५६ सालदेखि निरन्तर संसदीय चुनाव जित्दै आएका उनी २०६४ सालको संविधानसभा निर्वाचन र ७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम– २ बाट विजयी बनेका थिए भने उनी दुबै कार्यकाल संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहेका थिए ।

कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्यप्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भैसकेका उनी ७४ को संसदीय निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट उनी विजयी भएका थिए ।

गत पुस १० मा उनी एमालेको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनेका थिए । तर, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल गठबन्धनबाट उम्मेदवार बनेका नेम्वाङ पराजित भएका थिए । नेम्वाङ २०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति बनेका थिए भने २०३३ सालमा राजकाज मुद्दामा जेल परेका उनी तत्कालीन नेकपा मालेमा संगठित भए ।

२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेमा नेम्वाङ आवद्ध भए । २०५४ को छैटौं महाधिवेशनदेखि उनी निरन्तर एमाले केन्द्रीय कमिटीमा रहेका थिए । २०७१ सालमा भएको नवौं महाधिवेशनपछि उनी स्थायी कमिटी सदस्य बने । २०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनमा नेम्वाङ उपाध्यक्ष बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट