मिथिलाञ्चलमा ऐतिहासिक नाच लोप हुन थालेपछि स्थानीय कलाकारहरु विदेश पलायन हुँदै

  डेटूडे खबर डेस्क
  ०६ असोज २०८०

                            

शुभ नारायण यादव

सप्तरी । मिथिलाञ्चलको इतिहास, संस्कृति तथा लोकगाथासँग जोडिएका ऐतिहासिक तथा प्राचीन लोकनाच दिन प्रतिदिन लोप हुन थालेपछि यहाँका कलाकारहरु पनि विदेश पलायन हुन थालेका छन् । सातौँ तथा आठौँ शताब्दीदेखि प्रचलनमा रहेका मिथिला क्षेत्रको ऐतिहासिक तथा प्राचीन लोकनाचहरु राजा सहलेस, शितवसन्त, रुनाझुना, जङगली बादशाह, गोपीचन्द कुँवर वृजभान, सुन्दर वनको सुन्दर फूल, अल्लाह रुदल, गुगलीघाट, सामाचकेवा, कमलामैया, जयविसहरा, दुलहा दयालसिंहजस्ता नाचहरु लोप हुन थालेका हुन् ।

गएको चार दशकदेखि यस्तो नाच देखाउँदै आएका सप्तरीको साविक बरही बिरपुर हाल छिन्नमस्ता गाउपालिका वडा नम्बर १ का कलाकार बौयन राय भन्नुहुन्छ ‘उहिले नाचको राम्रो माग भएकाले २० जना कलाकारलाई भेला गरी एउटा नाच कम्पनी नै बनायौँ । तर कालान्तरमा नाच लोप हुन थालेपछि कलाकारहरु नै रोजीरोटीका लागि विदेश पलायन हुनुपर्ने अवस्था आयो ।’

गएको २० वर्ष पहिले नाच देखाएरै वार्षिक १० लाख रुपैयाँ कमाउने गरेको उहाँको भनाइ छ । तर अहिले वार्षिक एक लाख पनि कमाई हुने नगरेको उहाँले दुखेसो पोख्नुभयो । कलाकार रायको भनाइमा अहिले पाँच प्रतिशतको हाराहारीमा मात्र यस्ता नाच प्रचलनमा छन् ।

दुई सयभन्दा बढी नाच कम्पनी रहेको मधेश प्रदेशको सप्तरी, सिरहा र धनुषा जिल्लामा अहिले दुई दर्जनको हाराहारीमा मात्र त्यस्ता नाच कम्पनी जसोतसो सञ्चालनमा छन् । त्यसकारण दुई सयभन्दा बढी कलाकार बेरोजगार भएको उहाँले जानकारी दिनुभयो ।

खासगरी ग्रामीण क्षेत्रमा लोकप्रिय यस्ता नाचहरु लोप हुनुको प्रमुख कारण ऐतिहासिक नाचका सिडीहरु बजारमा छयापछयाप्ती पाउनु पनि हो । अहिले मिथिलाञ्चलका प्राचिन एवम् ऐतिहासिक नाच सिडीमा मात्र हेर्न सक्ने अवस्था रहेको स्थानीयवासीहरुको कथन छ ।

कलाको सम्मान नहुनु, सरकारबाट यस्ता नाचको संरक्षण नहुनु, कलाकारलाई प्रोत्साहन नहुनुजस्ता कारणले ऐतिहासिक महत्वका यस्ता नाच लोप भइरहेका छन् । यस्ता नाचहरु लोप हुन थालेपछि यसका कलाकारहरु आर्थिक रुपमा सङकटग्रस्त अवस्थामा पुगेका हुन् ।

मिथिला क्षेत्रसँग जोडिएको पल्लवित र पुष्पित यस प्रकारका नाचको संरक्षण, सम्वर्द्धन गर्न सरकारले बजेट नै छुट्याउनु पर्ने कलाकारहरुको माग छ । साथै मिथिलाञ्चलमा दिन प्रतिदिन लोप हुन लागेका यी यस्ता प्राचिन एवम् ऐतिहासिक नाचलाई स्थानीय, प्रदेश सरकार तथा सम्बन्धित निकायले समयमै उचित संरक्षण सम्वर्द्धन गनुपर्ने माग स्थानीय कलाकारहरुले गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट