प्रचण्डले पाएनन् विश्वासको मत, प्रधानमन्त्री पदबाट मुक्त

  डेटूडे खबर डेस्क
  २९ आषाढ़ २०८१

                            

काठमाडौँ । डेढवर्षे कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा पाचौँपटक विश्वासको मत लिए । उनको पक्षमा मत नपुगेपछि प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् ।

प्रचण्डको पक्षमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी तथा रास्वपाका गरी ६३ सांसदको मत परेको छ । काँग्रेस–एमाले–राप्रपा लगायत अन्य दलहरु विपक्षमा उभिँदा प्रचण्डको विपक्षमा १९४ मत परेको छ । १ मत तटस्थ रहेको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत जुटाउनका लागि १३८ मत आवश्यक पर्छ । 

असार १७ गते राति काँग्रेस–एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो । संविधानको धारा १०० (२) अनुसार सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत मागेका हुन् । 

२०७९ पुस १० गते एमाले, रास्वपालगायत दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले सोही पुस २६ गते विश्वासको मत लिँदा २६८ मत पाएका थिए । त्यसपछि काँग्रेससँग गठबन्धन गरेका प्रचण्डले दोस्रोपटक २०७९ चैत ६ गते विश्वासको मत लिँदा १७२ मत पाएका थिए । पुनः काँग्रेसलाई धोका दिएर एमालेसँग मिलेपछि २०८० फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिँदा उनको पक्षमा १५७ मत पाएका थिए । चौथोपटक २०८१ जेठ ७  प्रचण्डले विश्वासको मत लिँदा १५७ मत नै पाएका थिए । तर, पाचौँपटक ठूला दलको साथ नहुँदा उनले विश्वासको मत गुमाएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट