मधेशी जनता मधेशी दलबाटै पीडित : मधेशी युवा

  डेटूडे खबर डेस्क
  १६ भदौ २०८१

                            

जनकपुरधाम ।  मधेश जनजागरण अभियानले मधेशी जनता मधेशी दलबाटै पीडित भएको बताएको छ। मधेशका मुद्दाप्रति मधेशी दलहरू असंवेदनशील र गैरजिम्मेवार भएको आरोप लगाउँदै अभियानले आन्दोलनको चेतावनी दिएको छ।

अभियानले आइतबार मधेश मीडिया हाउसमा ‘मधेशका मुद्दाप्रति मधेशी दलहरूको उदासीनता किन ?’ विषयक पत्रकार सम्मेलन गरी उक्त चेतावनी दिएको हो। अभियानले विज्ञप्तिमा भनेको छ, ‘सरकार र मधेशी पार्टीहरूबीच विगतमा भएका सम्झौता कार्यान्वयनमा देखिएको ढिलाइप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

मधेशी युवाले समुदायका हकअधिकार सुनिश्चित गर्न नसकेको भन्दै मधेशी दलहरूको इच्छाशक्ति र प्रतिबद्धतामाथि प्रश्न गरेका छन्।

पत्रकार सम्मेलनमा अभियानका संयोजक रञ्जीतकुमार झाले सम्झौताका सबै बुँदालाई तत्काल कार्यान्वयनमा ल्याउन जोडदार माग गरेका छन्।

उनले संघीयता, समानुपातिक प्रतिनिधित्व, समावेशीकरण र मधेशी जनताका अधिकारहरूको पूर्ण सुनिश्चितताका लागि मधेशी दलहरूले तुरुन्तै आवश्यक कदम चाल्नुपर्ने आग्रह गरे।

उनले मधेशीहरू मुद्दाबाट विचलित भई ठूला दलहरूको पुच्छर भएको आरोप लगाए। उनले भने‚ ‘मधेशी दलहरू ठूलाका पुच्छर भए, जसपा माओवादीको पुच्छर, लोसपा कांग्रेसको पुच्छर र जनमत पार्टी एमालेको पुच्छर भएका छन्।’

मधेशी दलले मधेशीका लागि नभई परिवार र विदेशीका लागि काम गर्दै आएको आरोप लगाए।

केही दलाल मधेशी नेताहरूका कारण मधेशको स्वाभिमान खसेको भन्दै अब मधेशी दलहरूविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको उनले जिकिर गरे।
उनले मधेशी दलहरूका लागि मधेशवाद भनेको कांग्रेस, एमाले र माओवादी चाप्लुसी गर्ने मात्र रहेको आरोप लगाए।

अभियानका नेता डा. आदर्श नागवंशीले मधेशी जनता मधेशी दलबाट पनि पीडित रहेको बताएका छन्। उनले भने, ‘हामी गैरमधेशी दलहरूबाट त पीडित छँदै थियौं, मधेशी दलबाट पनि पीडित हुँदै आएका छौं।’

कार्यक्रममा प्रकाश कट्टारी, पंकज देव, भरत सहनी लगायतका वक्ताले मधेशी दलहरूलाई सुध्रिन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट