आज धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती

  न्यूज डेस्क
  ३१ भदौ २०८१

                            

महोत्तरी। इस्लाम धर्मावलम्बी आज धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती मनाउँदैछन् ।

इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको जन्मदिन मानिन्छ ।

इस्लाम धर्मवलम्बी यस महिनाको ९ तारिखदेखि नै उत्सवमय वातावरणमा ‘मोहम्मद डे’ अर्थात् मोहम्मदको जन्मदिन मनाउँछन् ।

पर्वका अवसरमा यहाँ मुस्लिम बस्ती निकै चहलपहल छ । मुस्लिम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्तीमा अहिले बस्ती सरसफाइ, रङरोगन र जताततै झिलीमिली बत्ती जडान गरिएका छन् ।

जलेश्वर, सम्सी, लोहारपट्टी, भङ्गाहा, मटिहानी र रामगोपालपुरका अधिकांश बस्ती मुस्लिम बसोबास बाहुल्यताका छन् ।

आज बस्तीबस्तीमा इस्लाम धर्मावलम्बीले सद्भाव र्यालीको आयोजना गरेका छन् । सबैप्रति उच्च सम्मान, आपसी एकता, परोपकार र अहिंसा यस पर्वको मुख्य सन्देश मानिन्छ।

पर्वको महत्व नै एकता र आपसी सद्भाव हुने जलेश्वर–६ का स्थानीयवासी महमुद आलम बताउँछ। पर्वमा एकाबिहानै नुहाइधुवाइ गरेर विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर) को पुकारा गर्दै हजरत मोहम्मद पैगम्बरका उपदेश सुन्छन्।

ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन छ । पर्वमा मिष्टान्न परिकार खाने खुवाउने चलन छ।

यो पर्वले सबैप्रति रहम (करुणा) गर्न र संसारभरिका मानवजातिसम्म हजरत मोहम्मद पैगम्बरको शुभ सन्देश पुर्याउँदै धार्मिक सद्भावका लागि अपिल गरिनु मुख्य पक्ष भएको सम्सी–६ का समाजसेवी इम्तियाज अहमद बताउँछ।

यसै अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट