दसैँ-तिहारलाई लक्षितगरी तीन हजार सात सय प्रहरी खटिने

  डेटूडे खबर डेस्क
  ११ असोज २०८१

                            
काठमाडाैँ ।  नेपाल प्रहरीले चाडपर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याएर नजीवनलाई सहज र सरल बनाउन विशेष सुरक्षा योजना अघि सारेको छ । ‘नागरिक स्वयम्‌को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षित राजधानी’ नाराका साथ काठमाडौं प्रहरीले सुरक्षा व्यवस्था अझ राम्रो बनाउन काठमाडौंलाई विभिन्न १४ इलाकामा विभाजन गरेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रत्येक युनिटमा १०-१० जनाको टोली बनाएर परिचालन गरिने काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । परिसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले दसैँ, तिहार, छठलगायत चाडपर्वका लागि काठमाडौंभित्र कुल तीन हजार सात सय ६५ जनशक्ति परिचालन गरिने जानकारी दिए । कुनै पनि घटना घटेमा घटनास्थलमा १० मिनेटभित्र पुग्ने गरी ‘इलेक्ट्रोनिक क्विक रेस्पोन्स टिम’ (ई–क्यूआरटी), सीआरभी र मोबाइल टोलीलाई तयारी अवस्थामा राखिएको उनले बताए ।

घटनास्थलको तस्वीर तथा श्रव्यदृश्य लिन ‘गोप्रो क्यामेरा’, तैनाथीको अवस्था बुझ्न जीपीए र तत्काल प्रतिक्रियाका लागि आवश्यक सामग्रीसहित ई–क्यूआरटी टिमलाई परिचालित गरिएको छ । घटनास्थलमा थप प्रतिकार्यका लागि बढीमा ३० मिनेटभित्र यथेष्ठ प्रहरी तैनाथी हुने व्यवस्था मिलाइएको छ । प्रहरीले अपराध हुन सक्ने सम्भावित क्षेत्रमा पैदल, सवारी र ड्रोनमार्फत गस्ती गर्नेछ । प्रहरीले स्थानीयका खाली घर, आर्थिक कारोबार हुन सक्ने स्थान, सरकारी कार्यालय, भिडभाड हुने स्थान, गरगहना पसल, बसका टिकट काउन्टर, धार्मिकस्थल, बसपार्कलगायतलाई सुरक्षा क्षेत्रका रूपमा पहिचान गरेको छ । 

सम्भावित क्षेत्रमा सूचना संकलनका लागि सादा पोसाकमा ३८ टोली परिचालित हुनेछन् । ‘सिल एण्ड सर्च’का लागि २८ तथा ‘एम्बुसिङ’ र निगरानीका लागि २२ टोली परिचालित गर्ने काठमाडौं प्रहरीको तयारी छ । काठमाडौं भित्रिने नाकामा प्रत्येक दिन कुकुरमार्फत उच्च निगरानी गरिने, विभिन्न ३५ स्थानमा सुरक्षा व्यवस्थासम्बन्धी चेतना फैलाउन पर्चा वितरण गर्ने, काठमाडौंका प्रमुख १२ स्थानका टिकट काउन्टरमा सहायता कक्ष सञ्चालन गरी सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन विविध कार्यक्रम गरिनेछ । 

बैंक तथा वित्तीय संस्थामा चोरी लुटपाट हुन सक्ने, सामान किनबेच हुने स्थानमा अत्यधिक भिडभाड भई किनबेच कार्यमा असुविधा तथा पसलमा चोरी तथा लुटपाट हुन सक्नेतर्फ ध्यान दिँदै प्रहरीले निगरानी गर्नेछ । एटीएम बुथ तोडफोड गरी चोरी हुन सक्ने हुँदा सो क्षेत्रतर्फ गस्ती गरी सुरक्षा व्यवस्था मिलाइने प्रहरी नायब उपरीक्षक रजौरेले बताए ।

काठमाडौंलाई सुरक्षित शहर बनाउन आम नागरिकको सावधानी आवश्यक रहेको भन्दै उनले काठमाडौंलाई सुरक्षित बनाउन प्रहरीले कुनै कसर बाँकी नराख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट