जनकपुरधाम । मधेशी आयोगले नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलपछि बोल्ट्सका समर्थकहरुमाथि भएको दुर्व्यवहारको भर्त्सना गर्दै घटनामा संलग्न दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेको छ।
कीर्तिपुर खेलमैदानमा हिजो शनिवार भएको एनपिएलको फाइनलका क्रममा जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुर्व्यवहारको निन्दा गर्दै आयोगले उक्त घटनामा संलग्न व्यक्तिहरूको यथाशीघ्र पहिचान गरी उनीहरूलाई सख्त कारबाही गर्न प्रहरी प्रधान कार्यालयसँग अनुरोध गरेको हो।
आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आज एक विज्ञप्ति जारी गरी यसकिसिमका घटनाप्रति राज्य तथा प्रहरी प्रशासन संवेदनशील नभएमा सामाजिक सदभाव तथा राज्यको चौतर्फी विकासमाथि नकारात्मक असर पर्ने तथा साम्प्रदायिक एवं सामाजिक सदभावमाथि खलल पुर्याउनेतर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण गराए।
सो घटनाका सन्दर्भमा आयोगले सदस्य जीवछ साह नेतृत्वमा उच्चस्तरीय टोली खटाइ स्थलगत निरीक्षणसहित घाइतेहरुसँग विस्तृत विवरण बुझेपछि निर्णय लिने स्पष्ट गरेको छ।