नेपाल प्रहरीका कार्यालय सहयोगीको गोली हानी हत्या गरेको आरोपमा ३ जना पक्राउ

  डेटूडे खबर डेस्क
  १४ पौष २०८१

                            

बारा । बारामा नेपाल प्रहरीका कार्यालय सहयोगीको गोली हानी हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी भई हाल विमानस्थल सुरक्षा गार्ड  सिमरामा कार्यरत प्रहरी कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्या भएको हो। उनको शव पुस ६ गते कारभित्र फेला परेको थियो। बाराको जितपुरसिमरा उपमहानगरपालिका–११ बकुलियाबाट रमौली लोसन्डा जाने सडकखण्डमा बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको विद्युतीय कारभित्र रुम्बाको शव फेला परेको थियो।

चालक बस्ने सिटमा मृतक रहेको सूचनापछि पुगेको प्रहरीले अनुसन्धान गर्दा जितपुरसिमरा उपमहानगरपालिका–१ घर भई प्रहरीमै कार्यरत व्यक्ति रहेको खुलेको थियो। शव पोष्टमार्टमका क्रममा टाउकोमा गोलीको बुलेट फेला परेको थियो।

उक्त कार राष्ट्रिय अनुसन्धान विभागका अधिकृत श्रीकान्त तिवारीको भएको खुलेको छ। जितपुरसिमरा उपमहानगरपालिका–३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारामा दरबन्दी भएका तिवारी पनि सिमरा विमानस्थलमै कार्यरत थिए।

उनको कारभित्र शव फेला परेपछि प्रहरीले तिवारीलाई पनि पक्राउ गरेको छ। अरु २ जना पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१९ का २७ वर्षीय पुरुषोत्तमकुमार दास र सोही ठाउँका २० वर्षीय इन्द्रजितकुमार चौहान रहेका छन्।

दास जितपुरसिमरा- १ को जय माँ इन्जिनियरिङ वर्कसपका सञ्चालक हुन्। मृतकले लगाएको सुनको सिक्रि र पर्स दासकोे वर्कसपबाट प्रहरीले बरामद गरेको छ।

गुप्तचरका अनुसन्धान अधिकृतले भने सोधपुछको क्रममा मृतक रुम्बाले आफ्नो गाडी मागेर लगेको बताएका बाराका प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले बताए। उनीहरुलाई पहिलो पटक ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको डीएसपी सापकोटाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट