पीएनजी १३४ रनमा अलआउट, सन्दीपले लिए ४ विकेट

  डेटूडे खबर डेस्क
  २२ भदौ २०७८

                            

२२ भदौ, काठमाडौं ।

बलरहरु चम्केपछि नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको पहिलो ओडीआईमा उत्कृष्ट सुरुवात गरेको छ । नेपाली बलरसामु खुलेर खेल्न नसकेपछि पपुवा न्यु गिनी १३४ रनमै अलआउट भएको छ ।

ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १३४ रन बनाएको हो ।

पीएनजीका लागि ओपनर लेगा सिएकाले सर्वाधिक ३० रन बनाए भने चार्ल्स अमिनीले २३, गाउडी टोकाले २२, विकेटकिपर किप्लिन डोरिगाले १५, सेसे बाउले १४ रन बनाए । चाड सोपर १७ रनमा अविजत रहे । पोकनाले १ रन जोडे । जासोन किला र डामिएन राभुले खाता समेत खोल्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै ओडीआई डेब्यु गरेका विक्रम सोबले ५ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ७ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको पीएनजीले सुरुमै विकेट गुमाएपछि दबाबमा आएको थियो ।

यसै खेलबाट ओडीआईमा डेब्यु गरेका नेपालका विक्रम सोबले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिँदै शानदार सुरुवात गरे । उनले खेलको दोस्रो ओभरमै बलिङ गर्ने अवसर पाउँदा पीएनजीका ओपनर टवनी उरालाई १ रनमै बोल्ड गरे ।

त्यसपछि आफ्नो दोस्रो ओभरमा उनले कप्तान असद भालालई आरिफ शेखबाट क्याचआउट गराए । भालाले जम्मा ४ रन जोडे ।

९ रनमै सुरुवाती दुई विकेट गुमाएपछि पीएनजीले केही सम्हालिएर खेल्ने प्रयास गर्‍यो । सिएका र अमिनीले तेस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै इनिङ्स उकास्न खोजेका थिए । तर नेपालका सन्दीप लामिछानेले १२ औं ओभरमा अमिनीलाई विकेटकिपर आसिफ शेखबाट क्याचआउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाए ।

त्यसपछि भने पीएनजीले नेपाली बलर सामु खुलेर खेल्न सकेन र नियमित अन्तरमा विकेट गुमायो । लगत्तै अर्को ओभरमा कुशल मल्लले सिएकालाई कट एण्ड बोल्ड गर्दा पीएनजीले चौथो विकेट गुमायो ।

सेसे बाउ र डोरिगाले इनिङ्स सम्हाल्न प्रयास गरेका थिए । तर स्कोर ८५ हुँदा पीएनजीले पाँचौ विकेट गुमायो ।

सन्दीपले २० औं ओभरमा सेस बाउलाई कुशल मल्लबाट क्याचआउट गराए । २३ औं ओभरमा कुशल मल्लले कुशल भुर्तेलाई डोरिगालाई क्याचआउट गराउदै नेपाललाई छैटौं सफलता दिलाए ।

जासोन किलालाई सन्दीपले २४ औं ओभरमा एलबीडब्लु धरापमा पारे । यस्तै सोमपाल कामीले ३० औं ओभरमा गाउड टोकालाई कुशल भुर्तेलबाट क्याचआउट गराउँदै नेपाललाई आठौं सफलता दिलाए ।

सोही ओभरमा डोमिएन राभु खाता नखोली रनआउट भए । ३३ औं ओभरको अन्तिम बलमा सन्दीपले नोसाइना पोकनालाई एलबीडब्लु धरापमा पार्दै पीएनजीको इनिङ्स समाप्त पारेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट