प्रहरी नियन्त्रणमा रहेका ओलीलाई पित्तथैलीमा पत्थरी
डेटूडे खबर डेस्क
१६ चैत्र २०८२
काठमाडौं । शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । पक्राउपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका ओलीलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।‘एनेक्स–१’ को शय्या नम्बर ५०१ मा उनको २४ सै घण्टा चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।
ओलीमा उच्च रक्तचाप, थाइराइड हर्मोनको कमी, मिर्गौलासम्बन्धी समस्या, पित्तथैलीमा पत्थरी र मुटुको धड्कन बढ्ने समस्या एकसाथ देखिएको अस्पतालका सहायक प्रवक्ता कालीप्रसाद रोस्याराले जानकारी दिए ।ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको छ । ओली शारीरिक तथा मानसिक रूपमा तयार भएपछि मात्र शल्यक्रिया गरिने रोस्यालले जानकारी दिए । उनका अनुसार, शल्यक्रिया गर्नैपर्ने अवस्था भए पनि तत्काल अन्य स्वास्थ्य जटिलताका कारण शल्यक्रियाको निर्णय लिइएको छैन ।
