संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ
डेटूडे खबर डेस्क
१७ आषाढ़ २०८३
काठमाडौँ : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
राष्ट्रिय सभा बैठकमा आज अध्यक्ष दाहालले बैठकको आकस्मिक, शून्य, विशेष र प्रादेशिक सरोकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिएका छन्।
‘राष्ट्रिय सभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शुन्य समय, विशेष समय र प्रादेशिक सरोकार समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सम्बन्धित सबै माननीय मन्त्रीहरूलाई निर्देश गर्दछु’, उनले भने।
सांसदहरुको ध्यानाकर्षणपछि सोही सन्दर्भलाई ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारका नाममा यस्तो निर्देशन जारी गरेका हुन्। राष्ट्रिय सभाका सदस्यहरूले जनसरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गरे पनि सम्बन्धित मन्त्रीहरूबाट समयमै जवाफ नआएको भन्दै सभामा आवाज उठ्दै आएको थियो।
