असन्तुष्ट न्यायाधीशहरू आजदेखि इजलासमा
डेटूडे खबर डेस्क
०३ मंसिर २०७८
काठमाडौँ , ३ मंसिर । प्रधानन्यायाधीशसँग असन्तुष्ट सर्वोच्च अदालतका न्यायाधीशहरू आजदेखि इजलासमा फर्कनुभएको छ ।
बिहीबार सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट मुद्दाको पेशी तोक्न सक्ने गरी नियमावली संशोधनको प्रस्ताव पारित गरेपछि न्यायाधीशहरू इजलास फर्कनुभएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरूको माग अनुसार आज सबै पेसीमा तामेलीका लागि दिइएको निवेदन, बन्दी प्रत्यक्षीकरण वा थुनुवासम्बन्धी मुद्दा मात्रै पेसी राख्नुभएको थियो ।
आजका लागि गठन गरिएको दश इजलासमध्ये ६ वटा इजलासमा मुद्दाको सुनुवाइ सुरु भइसकेको छ ।
आजका लागि प्रधानन्यायाधीश जबराले ९ वटा संयुक्त इजलास र एउटा एकल इजलास गरी कुल दश वटा इजलासमा २ सय २२ वटा रिट निवेदन पेसी तोक्नुभएको छ । प्रधानन्यायाधीश जबराले आफूलाई भने आजको इजलासमा राख्नुभएको छैन ।
यसैबिच, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरूले आज पनि धर्नाको कार्यक्रमलाई जारी राखेका छन् ।
नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरूले केही दिन यता प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउँदै सर्वोच्चको मूल गेटमा धर्ना दिँदै आएका छन् ।
प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै नेपाल बार एसोसिएसन झण्डै एक महिना यता आन्दोलनमा छ ।