सेवा निवृत्त कर्मचारीको अनुभवलाई प्रयोग गर्नुपर्ने : कार्यकारी निर्देशक केसी

  डेटूडे खबर डेस्क
  ०३ मंसिर २०७८

                            

जनकपुरधाम, ०३ मंसिर । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले सेवा निवृत्त भएर जाने अग्रज पुस्ताको अनुभव र क्षमतालाई प्रयोग गरी रेडियो नेपाललाई अझै प्रभावकारी बनाउने बताउनुभएको छ । 

रेडियो प्रसार सेवा विकास समितिले आज सिंहदरबारमा आयोजना गरेको सेवा निवृत्त कर्मचारी बिदाइ तथा कदर पत्र वितरण कार्यक्रममा कार्यकारी निर्देशक केसीले कुनै पनि संस्थालाई अब्बल बनाउन प्राविधिक, व्यवहारिक, सामाजिक सबै सम्बन्ध आवश्यक भएकाले सेवा निवृत्त कर्मचारीको अनुभवलाई प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

रेडियो नेपालबाट सेवा निवृत्त हुनुभएका कार्यक्रम महाशाखाका उपनिर्देशक पूर्ण कुमार थापा र प्रशासकीय अधिकृत गणेश तिमिल्सिनालाई कार्यकारी निर्देशक केसी र रेडियो नेपाल सञ्चालक समितिका सदस्य एवं कार्यक्रम महाशाखाका प्रमुख टिका भण्डारीले कदर पत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो । 

कार्यक्रममा व्यापार महाशाखा प्रमुख खगेन्द्र खत्री र कार्यक्रम महाशाखाका प्रमुख भण्डारीले सेवा निवृत्त हुनुभएका थापा र तिमिल्सिनासँगको सहयात्राको स्मरण गर्नुहुँदै उहाँहरूका आगामी दिन थप ऊर्जामय हुनेमा विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा   सेवा निवृत्त हुनुभएका उपनिर्देशक थापाले सेवारत रहँदाको आफ्नो अनुभव सुनाउँदै आउने दिनमा पनि रेडियो नेपालका लागि आफूहरू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

रेडियो नेपाल कर्मचारी युनियनका अध्यक्ष भरत घिमिरे, रेडियो नेपाल कर्मचारी संघका कोषाध्यक्ष उज्जल घिमिरे र रेडियो नेपाल राष्ट्रिय कर्मचारी संघका महासचिव प्रमोद भट्टराईले सेवा निवृत्त कर्मचारीहरूको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट