कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैन : अध्यक्ष यादव

  डेटूडे खबर डेस्क
  ११ मंसिर २०७८

                            

जनकपुरधाम, ११ मंसिर । चितवन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न नहुने बताउनुभएको छ । 

आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गरे त्यो स्वतन्त्र न्यायपालिका रहन नसक्ने बताउनुभएको हो । 

अध्यक्ष यादवले सरकारले न्यायपालिकाको विवाद मिलाउने विषयमा चासो राखेको भए पनि त्यसलाई हस्तक्षेप गरेको भन्न नमिल्ने बताउनुभयो । “कार्यपालिकाले हस्तक्षेप ग¥यो भने अन्तर्राष्ट्रिय जगतमा पनि लोकतन्त्रका लागि राम्रो मानिँदैन”, उहाँले भन्नुभयो, “कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैन । सुझाव सल्लाह दिएर यो समस्या हल होस् भन्ने कुरा अलग विषय हुन् ।”

अध्यक्ष यादवले प्रधानन्यायाधीशका विषयमा दलले भन्नुभन्दा पनि न्यायाधीश र अधिवक्ता बसेर यसको समाधान खोज्नुपर्छ भन्दै न्यायालयको आफ्नै पद्धति हुन्छ, न्यायालयमा अहिले देखिएको समस्या छिट्टै हल होस् र न्याय निरूपणको काम होस् भन्ने हाम्रो चाहना रहेको बताउनुभयो । न्यायपालिका आफैँ एउटा संवैधानिक व्यवस्था भएको संस्था रहेको उल्लेख गर्दै उहाँले राजनीतिक सत्ता र शक्तिको प्रभावबाट यो संस्था स्वतन्त्र र अलग रहनुपर्छ भन्नुभयो । 

“अब चाँडै नै संसद् बोलाउनुपर्छ र यसले  बिजनेस पनि पाउनुपर्छ”, उहाँले भन्नुभयो, “संसद् समक्ष धेरै विधेयक छन् । त्यसलाई पारित गरेर अघि बढ्नुपर्छ ।” संसद् बोलाउने अधिकार मन्त्रिपरिषद्को कार्यक्षेत्रभित्र पर्ने भएकाले अनुकूलता मिलाएर बोलाउन सकिने उहाँको भनाइ छ । रासस

 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट