सुदूरपश्चिमको ठूलो दल एमाले चौथो स्थानमा, प्रदेश सरकार सुरक्षित

  डेटूडे खबर डेस्क
  २३ भदौ २०७८

                            

२३ भदौ २०७८, डे2डे खबर

गोदावरी । नेकपा (एमाले) विभाजनपछि सुदूरपश्चिम प्रदेश सरकारको अंक गणित पनि फेरबदल भएको छ। प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) पार्टी सबैभन्दा ठूलो दल बनेको छ।  

एमाले पहिलो दलबाट चौथो स्थानमा झरेको  छ। सभामुखसहित २५ सांसद रहेको नेकपा एमालेका १४ जना सांसद एकीकृत समाजवादीमा गएका छन्। 

५२ जना सांसद रहेको प्रदेश सभामा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, सभामुख सहित नेकपा एमालेका ११, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १/१ जना सांसद छन्।

नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन पछि बदलिएको अंकगणितमा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार बहुमतमा देखिएको छ।

नेकपा एमालेभित्रको आन्तरिक किचलोले एमालेले नेतृत्व गरिरहेका गण्डकी र लुम्बिनी प्रदेश सरकार गुमाउनु परेको थियो।  एमाले विभाजन पछि त्यसको प्रभाव प्रदेश सरकारमा निकै परेको छ। यद्यपी सुदूरपश्चिममा प्रदेश सरकारमा एमाले विभाजनको प्रभाव न्यून देखिएको छ।

अहिले सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्टको नेतृत्वमा गठबन्धन सरकार छ। सुदूरपश्चिममा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको गठबन्धन सरकार स्पष्ट बहुमतमा छ। 
सरकार बनाउन आवश्यक पर्ने २७ सांसद गठबन्धनसँग छन्। उता नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी प्रतिपक्षकै हैसियतमा प्रदेश सभामा उपस्थित हुने छन्। 

सत्ता गठबन्धन इतर दलहरु अल्पमतमा (सभामुख सहित २५ सांसद) मात्रै छन्। एमाले विभाजनमा उपाध्यक्ष भीम रावलले माधव कुमार नेपालको साथ छाडे पछि माओवादी केन्द्रसँग प्रदेशमा सत्ता सहकार्य गरिरहेको माधव समूह एमालेमै बस्ने र भट्ट नेतृत्वको सरकार अल्पमतमा पर्ने अनुमान गरिएको थियो। 

यद्यपी एमाले विभाजनमा भीम रावलले सुदूरपश्चिम प्रदेश सभामा रहेको आफ्नो वर्चश्व गुमाएका छन्। माधव नेपालको साथ छाडेर एमालेमै बस्दा रावलले सुदूरपश्चिम प्रदेशका १३ सांसदको साथ पाएनन्।  

माधव समूहका १७ सांसदमध्ये ४ जना सांसदले मात्रै रावललाई साथ दिएका छन्।  

सरकारमा सहभागी रावल निकट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाह र राज्यमन्त्री अर्चना गहतराजले एमालेमै बस्ने निर्णय गर्दै मंगलवार राजीनामा दिएका थिए।

यसअघि नेकपा एमालेको ओली समूहले बारम्बार भट्ट नेतृत्वको सरकार ढाल्ने प्रयास गरेको थियो। तर रावलको सक्रियतामा माधव समूहले भट्टको सरकार जोगाइदिएका थिए। 
त्यसपछि गत चैतमा मुख्यमन्त्री त्रिलोचन भट्टले माधव समूहलाई पनि सरकारमा सहभागी गराए का थिए। 

सत्तासहकार्य गरिरहेको माधव समूहको नवगठित नेकपा एकीकृत समाजवादी ठूलो दल बनेपछि मुख्यमन्त्री भट्टको सरकार झनै सुरक्षित भएको छ। 

माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन सरकारलाई निरन्तरता  दिइने आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी बताउँछिन्। 

‘हामी स्पष्ट बहुमतमा  छाैँ। त्यसैले अहिले यही सरकारलाई सुदृढ बनाएर लैजान्छौँ’ उनले नेपालखबरसँग भनिन्, ‘समाजवादीले नेतृत्व गर्ने विषयमा अहिले केही छलफल भएको छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट