प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष ‘प्रचण्ड’
डेटूडे खबर डेस्क
१८ मंसिर २०७८
चितवन, १८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले लोकतन्त्रको सुदृढीकरणका निम्ति प्रेस स्वतन्त्रता आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “विगतको सरकारले जे–जस्ता ऐन बनाएर कहीँ न कहीँ प्रेस जगत्लाई अङ्कुश लगाउने जे–जस्ता ऐन बनेका छन् तिनलाई खारेज गरिने छ, यो हुन दिइने छैन ।” यस विषयमा पाँच दलीय गठबन्धनमा छलफल सुरु भइसकेको जनाउँदै उहाँले प्रधानमन्त्रीसँग पनि कुरा भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यसो हुन दिइने छैन, जति प्रेस बलियो हुन्छ, जति पत्रकार जिम्मेवार र सङ्गठित हुन्छन् त्यति लोकतन्त्र सुदृढ र समाजवादको आधार तयार हुन्छ ।” स्वतन्त्र प्रेससँगै समाजवादको दिशातर्फ अघि बढ्ने कामको सुनिश्चितता हुने उहाँको भनाइ थियो ।