कांग्रेसका ६ प्रदेश अधिवेशन सकियो, प्रदेश नं. २ मा अन्यौल
डेटूडे खबर डेस्क
२० मंसिर २०७८
जनकपुरधाम, २० मंसिर । नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसका ६ वटा प्रदेशको अधिवेशन सम्पन्न भए पनि प्रदेश नम्बर दुईमा भने महाधिवेशन अघि नै प्रदेश अधिवेशन हुने नहुने विषय भने अन्यौल भएको छ । तर पनि निर्वाचन समिति भने केन्द्रीय प्रतिनिधिको तयारीमा लागेको छ ।
छ वटा प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेस अब भने पूर्णरुपमा महाधिवेशन केन्द्रित भएको छ । प्रदेश नम्बर दुई बाहेकका प्रदेशमा अधिवेशन सम्पन्न गरेपछि निर्वाचन समिति महाधिवेशनमा केन्द्रित भएको हो । महाधिवेशनका प्रतिनिधिको तथ्याङ्क राख्ने, त्यसलाई व्यवस्थापन गर्नेदेखि महाधिवेशनमा आउने अतिथिहरुलाई पत्र बाँड्ने सम्मको काम भइरहेको निर्वाचन समितिले जनाएको छ ।
वडा, क्षेत्रीय, जिल्ला प्रदेश नम्बर २ बाहेकका सबै ६ वटै प्रदेशमा विधान अनुसारको नयाँ कार्यसमिति चयन भइसकेको छ ।
प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित हुनु भएको छ । थापाले आफ्ना प्रत्यासी गुरुराज घिमिरेलाई २ मतले पराजित गर्नुभएको छ ।
लुम्बिनी प्रदेश सभापतिमा भरतकुमार शाहलाई पराजित गर्दै अमरसिंह पुन मगर निर्वाचित हुनुभएको छ ।
बागमती प्रदेशमा दोश्रो चरणमा भएको निर्वाचनमा ईन्द्र बानियाँ सभापतिमा निर्वाचित हुनु भएको छ । उहाँले जगदिश्वर नरसिंह केसीलाई पराजित गर्नुभएको थियो ।
सुदूरपश्चिम प्रदेशमा बीरबहादुर बलायरको प्यानल निर्वाचित भएको छ । बलायरको प्यानलले नारायणदत्त मिश्रसहितको प्यानललाई पराजित गरेको छ ।
कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी हुनु भएको छ । विजयी शाहीले प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीलाई ९१ मतान्तरले पराजित गर्नु भएको छ ।
गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी हुनुभएको छ । आफ्ना प्रतिस्पर्धी अर्जुन जोशीलाई उछिन्दै शर्मा विजयी हुनुभएको हो ।
यसरी संघीय संरचनाका आधारमा भएको प्रदेश निर्वाचनमा उम्मेदवार भएकाहरुले केन्द्रीय महाधिवेशनमा भने उम्मेदवार हुन नपाउने व्यवस्था छ ।
मंसीर २४ गते उद्घाटन हुने कांग्रेसको महाधिवेशनमा २७ गते मतदान गर्ने कार्यतालिका रहेको छ ।