संसद बैठकमा एमालेको नाराबाजी

डेटूडे खबर डेस्क
२८ मंसिर २०७८
जनकपुरधाम, २८ मंसिर मंगलवार । सङ्घीय संसद्को हिउँदे अधिवेशन आज मङ्गलवारदेखि सुरु भएको छ । तर आजको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले संसदमा नाराबाजी गर्दै बैठक अवरोध गरेका छन् । दिउँसाे २ बजेदेखि बैठक सुरु हुनेबित्तिकै एमाले सांसदले नाराबाजी गरेका हुन् । एमालेका सांसदहरूले नेकपा एमालेले पार्टीबाट निष्कासन गरेका सांसदलाई सभामुखले नहटाएको भन्दै विरोध गरेका हुन् । उनीहरूले गैरसांसद राखेर संसद् चल्न नसक्ने जिकिर गरेका छन् । तर सभामुख सापकोटाले भने नागरिकका जनप्रतिनिधिको थलोलाई बन्धन नबनाउन आग्रह गर्नुभएको छ। आजकाे संसद् बैठकमा ६ वटा अध्यादेश पेस हुने कार्यसूची रहेकाे छ । गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधनअध्यादेश २०७८, तेजाब तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेस गर्ने कार्यसूची छ ।त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कार्यविधि सम्बन्धी अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।