करछली मुद्दामा मुछियो बच्चन परिवार पनि

  डेटूडे खबर डेस्क
  ०६ पौष २०७८

                            

जनकपुरधाम, ०६ पुस । जब पनामा पेपर्स लिक हुन्छ करछली तथा आर्थिक घोटालाका धेरै मामिला बाहिर आउँछन्। जहाँ विश्वभरिका लाखौँ चर्चित नाम विवादमा तानिने गर्छन्। भर्खरै पनामा पेपर्सका कारण बलिउडको चर्चित बच्चन परिवार पनि विवादमा तानिएको छ। कानुन प्रवर्तन निर्देशनालय (इडी) ले अभिनेत्री ऐश्वर्या राय बच्चनलाई झण्डै ६ घण्टा सोधपुछ गरेको छ। पनामा पेपर्समा नाम जोडिएपछि सोधपुछका लागि निर्देशनालयले ऐश्वर्यालाई पत्र पठाएको थियो। ऐश्वर्याले इमेलबाट दिएको स्पष्टीकरणले काम नगरेपछि उनी दिल्लीस्थित इडीको कार्यालयमै जानुपरेको थियो। यसअघि पनि इडीले ऐश्वर्यालाई दुई पटक सोधपुछका लागि बोलाएको थियो। तर, दुवै पटक ऐश्वर्याले इडीको कार्यालय जान अस्विकार गरेकी थिइन्। एक महिनाअघि मात्र अभिषेक बच्चनलाई पनि बोलाएर सोधपुछ गरिएको थियो। एक रिपोर्टका अनुसार सन् १९९३ मा अमिताभ बच्चन निर्देशक रहने गरी ४ कम्पनी स्थापना भएका थिए। तीमध्ये ३ कम्पनी बहामासमा रहेका थिए भने एउटा भर्जिन आइल्याण्डमा रहेको थियो। ट्याक्स हेवन कन्ट्री भनेर चिनिने ती देशमा आयको स्रोत खुलाउन नपर्ने र ठूलो रकम करछली हुँदै आएको रिपोर्टले दावी गरेको छ। ती कम्पनीमध्ये एउटा अमिक पार्टनर्स प्राइभेट लिमिटेडको निर्देशक ऐश्वर्या रहेकी थिइन्। उनी पछि सो कम्पनीको शेयरहोल्डर बनेकी थिइन्। ऐश्वर्यासँगै उनका पिता के राय, आमा वृन्दा राय र भाइ आदित्य राय पनि उक्त कम्पनीका शेयरहोल्डर थिए। सन् २००८ मा उक्त कम्पनी बन्द भएको थियो। एउटा अनुसन्धानले उक्त कम्पनी नक्कली रहेको र कर छली गर्ने उद्देश्यले मात्र खोलिएको देखाएपछि बच्चन परिवार कठिनाइमा परेको थियो। सन् २०१६ मा लिक भएको पनामा पेपर्सले ४० वर्षदेखि ट्याक्स हेवन देशमा लगानी गर्दै करछलीको रकमलाई शुद्ध बनाउँदै आएकाहरूको नाम सार्वजनिक भएको थियो। त्यसैवेलादेखि बच्चन परिवार विवादमा तानिएको थियो। बच्चन परिवारसँगै उक्त लिस्टमा भारतका मात्रै पाँच सयभन्दा धेरै मान्छेको नाम थियो। जसमा अधिकांश उद्योगपति, कलाकार, खेलाडी तथा नेता छन्। करछलीको आरोप लागेका ती सबै जनासँग सोधपुछ तथा अनुसन्धान भइरहेको छ।बच्चन परिवार मात्र नभएर अजय देवगन, सोनु सुद, ज्याकलिन फर्नान्डिस, नोरा फतेहीलगायत कलाकार पनि कर छलीको मुद्दामा मुछिएका थिए।धेरै केस अझै पनि अनुसन्धानकै क्रममा रहेका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट