रेशम चौधरी ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ता गर्दै

डेटूडे खबर डेस्क
१९ पौष २०७८
जनकपुरधाम, १९ पुस । कैलालीको टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि नेताहरू निर्वाचन आयोगमा पुगेका छन्। चौधरी समर्थित नेताहरू ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजागाजासहित आयोगको कार्यालय पुगेका हुन्। भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका हुन्।
पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भइरहेको छ। कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीबाट निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर गरेपछि उनी अहिले पनि कैद भुक्तानका लागि कारगारमा छन्। जेलमा रहँदा नै वारिसबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरीले जेलमा रहँदा नै पार्टी दर्ता गर्न लागेका छन्।