भारतले आफ्नो बजेटमा छुट्यायो नेपाललाई अनुदान दिने १२ अर्ब रुपैंया
डेटूडे खबर डेस्क
१८ माघ २०७८
जनकपुरधाम । भारत सरकारले वित्त वर्ष २०२२/२३ मा नेपाललाई अनुदान दिने गरी ७ अर्ब ५० करोड भारतीय रुपैयाँ (१२ अर्ब नेपाली रुपैयाँ) बजेट छुट्याएको छ । यो अघिल्लो वर्षको बजेटमा छुट्याइएको रकम भन्दा कम हो । गत वर्षको बजेटले ९ अर्ब ९२ करोड भारु छुट्याएको थियो । सो वर्ष यो रकम संशोधन गरी भारतले ६ अर्ब ५० करोड भारुमा झारेको थियो ।
वर्ष २०२०/२१ मा भारतले ८ अर्ब ७९ करोड भारु रकम नेपाललाई अनुदान दिएको थियो । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार प्रस्तुत गरेको वित्त वर्ष २०२२/२३ को बजेटमा विदेश मन्त्रालयअन्तर्गत भारतले मुलुकहरुलाई दिने अनुदान रकम छुट्याएको हो ।
भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई छुट्याएको छ । भुटानलाई २२ अर्ब ६६ करोड भारु दिने भएको छ । भारतले अफगानिस्तानलाई २ अर्ब, बंगलादेशलाई ३ अर्ब, श्रीलंका २ अर्ब, माल्दिभ्सलाई ३ अर्ब ६० करोड, मंगोलियालाई १२ करोड र अफ्रिकी मुलुकलाई २ अर्ब ५० करोड भारतीय रुपैयाँ छुट्याएको छ ।