मुख्यमन्त्री लालबाबु राउत : नीति निर्माणको तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्छ

डेटूडे खबर डेस्क
१८ चैत्र २०७८
जनकपुरधाम । शुक्रवार जनकपुरधामको वेलकम हाेटलमा आयाेजना गरिएको जलवायु परिवर्तनको असर र त्यसबाट महिलामा परेको प्रभाव सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अहिलेको युगमापनि हाम्रो जनसमुदायमा शिक्षाको अभाव,पितृसत्तात्मक समाज र साेचले गर्दा महिला विभेदमा परेको र धेरै हदसम्म अगाडी बढन नसकेको बताउनुभयाे ।
घरमा छाेरा र छाेरीको खेल्ने सामाग्रीमा पनि भेदभाव गरेको समाजमा कस्ताे विडम्बनादायी कुरा रहेको दु:ख व्यक्त गर्नुभयाे । नीति निर्माणको तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने उहाँले जोड दिनुभयो ।
जलवायु परिवर्तनले सबै क्षेत्र प्रभावित भइरहदा यसबाट महिला अक्षुण्ण नरहेको उहाँले जिकिर गर्नुभयो । जलवायु परिवर्तनले बेमाैसमी वर्षा र त्यसबाट परेको प्रभावले धेरे नैे समस्या सिर्जना भएको उहाँले बताउनुभयो । चुरे दोहन, वन फडानी, बालुवा गिट्टी उत्खनन् कार्य रोक्नुपर्ने, बालुवा, गिट्टी बेचेर मुलुक समृद्ध हुन नसक्ने जिकिर गर्दै यसको निकासी तत्काल रोक्नुपर्ने राउतको भनाई थियो ।
अन्तरक्रिया कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधिश सपना मल्ल प्रधानले चुनौतीपूर्ण भूमिकामा महिलालाई अगाडि ल्याउनुपर्नेमा जोड दिदै महिला पनि सक्षम रहेको संदेश दिनआफूहरु ५५४० मीटर अग्लो कालापत्थरसम्म पुगेको बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, प्रदेश सभा सदस्य मन्जु यादव, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आआफ्ना धारणा राखेका थिए भने सम्बन्धित सरोकारवालाको उपस्थिती रहेको थियो ।