‘मधेस प्रदेश बचाउन चुरे संरक्षणमा जोड दिनुपर्छ’ : गिरिराजमणि पोखरेल

डेटूडे खबर डेस्क
२१ चैत्र २०७८
बर्दिबास । पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मधेस प्रदेश बचाउन चुरे संरक्षणमा जोड दिनुपर्ने एक कार्यक्रमका बिच बताएका छन् ।
चुरे रहे, मधेस रहन्छ भन्दै उहाँले प्रकृतिमैत्री विकास गर्नुपर्नेमा जोड दिनुभयो । महोत्तरीको बर्दिबासमा आयोजित वृक्षारोपण तथा पार्क निर्माण शिलान्यास कार्यक्रममा उहाँले मधेसको प्राण बायु नै चुरे रहेको भन्दै अहिले भइरहेका निर्माण कार्यले चुरे संरक्षणमा ठुलो भूमिका खेल्ने बताए ।
रोटरी क्लब बर्दिबासको पहलमा वन तथा भू–संरक्षण विभाग र बर्दिबास नगरपालिकाको सहयोगमा सहरी वन कार्यक्रम अन्तर्गत वृक्षारोपण तथा पार्क निर्माण हुन लागेको हो ।
कार्यक्रममा बर्दिबास नगरपालिकाका प्रमुख विदुर कुमार कार्कीले नगर क्षेत्रमा झन्डै ३ लाख बिरुवा वृक्षारोपण गरिएको जानकारी गराए । बर्दिबास नगरलाई हरित नगर बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको उहाँले बताए ।
रोटरी क्लब बर्दिबासको पहलमा रातुखोलाको नदी उकास जमिनको झन्डै १५ बिगाहा क्षेत्रफलमा १ करोड ६ लाखको लागतमा वृक्षारोपण तथा पार्क निर्माण कार्य हुँदैछ ।
उक्त कार्यका लागि वन तथा भू–संरक्षण विभागको ७४ लाख २७ हजार र बर्दिबास नगरपालिकाको ३ लाख १८ हजारको सहकार्य रहने रोटरी क्लब बर्दिबासका अध्यक्ष विष्णु खड्काले जानकारी दिए ।