आज रामनवमी पर्व मनाइदै
डेटूडे खबर डेस्क
२७ चैत्र २०७८
जनकपुरधाम । रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि जानकी मन्दिर राम मन्दिरमा भक्तजनको भीड लागेको छ ।
प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ ।
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ ।
त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।
आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने धर्मग्रन्थमा उल्लेख छ ।