\'केजीएफ-२\' बन्यो हजार करोड कमाउने चौँथो भारतीय फिल्म

  डेटूडे खबर डेस्क
  १७ वैशाख २०७९

                            

प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म 'केजीएफ च्याप्टर २' एक हजार करोड(भारु) कमाउने चौंथो भारतीय फिल्म बनेको छ। प्रदर्शनको तेस्रो हप्तामा फिल्मले विश्वभरबाट हजार करोडमाथिको बक्स अफिस कलेक्सन गरेको हो। 

'केजीएफ २' अघि उक्त सूचीमा 'दंगल', 'बाहुबली २' र 'आरआरआर' मात्रै थिए। फिल्मले भारतमा मात्रै ७ सय ९५ करोडमाथिको कमाइ गरेको छ। यो सँगै भारतमा सबैभन्दा बढी कमाउने फिल्मको सूचीमा 'केजीएफ २' तेस्रो नम्बरमा पुगेको छ। उक्त सूचीको पहिलो नम्बरमा १४ सय २९ करोड कमाउँदै 'बाहुबली २' रहेको छ भने दोस्रो नम्बरमा 'आरआरआर' रहेको छ। जसको बक्स अफिस कलेक्सन ८ सय ८० करोड रहेको छ। 

त्यति मात्र होइन 'केजीएफ-२' को हिन्दी डबले मात्रै ३ सय ५० करोडमाथिको बक्स अफिस कलेक्सन गरिसकेको छ। जुन तीन सय करोड क्लबका रहेका सुपरहिट हिन्दी फिल्म 'सञ्जु', 'पिके', 'बजरंगी भाइजान', 'पद्मावत'को भन्दा पनि बढी हो।

उक्त सूचीमा पहिलो नम्बरमा ५ सय १० करोड सहित 'बाहुबली २' रहेको छ भने दोस्रो नम्बरमा रहेको 'दंगल'को बक्स अफिस कलेक्सन ३ सय ८७ करोड रहेको छ।

'केजीएफ-२' को यो सफलतापछि अन्य दक्षिण भारतीय फिल्म निर्माताले पनि आफ्नो लगानी बढाउने तयारी गरेका छन्। २०२१ को सफल फिल्म 'पुष्पा : द राइज'को दोस्रो भागमा केही परिमार्जन गर्ने तयारीमा लेखक तथा निर्देशक सुकुमार लागेका छन् भने 'केजीएफ'कै निर्देशकको अर्को बिग बजेट फिल्म 'सालार'को पनि बजेट बढाउने तयारीमा निर्माण टोली लागेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट