देवी प्रतिमा सर्वसाधारणको लागि दर्शन गर्न खुला

  डेटूडे खबर डेस्क
  १६ असोज २०७९

                            

जनकपुरधाम । महोत्तरी सहितका मिथिला क्षेत्रमा आज देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन् । मिथिलामा शारदीय नवरात्र (बडादसैँ)का अवसरमा निर्मित दुर्गा भवानीका प्रतिमा आज महासप्तमी (पूmलपाती)का दिन बेलको भेट्नुले आँखा खोलिएसँगै सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन् ।    
    
पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा सप्तमीका दिन बेलफलको भेट्नुले खोस्रेर उघारेपछि प्रतिमास्थलको पर्दा उघार्ने मैथिल परम्परा छ । आँखा नउघारिएसम्म देवी प्रतिमाको प्राणप्रतिष्ठा नहुने भएकाले पूmलपातीका दिनमात्र आँखा उघारेर प्रतिमा सर्वसाधारणका लागि खुला गरिन्छ । आँखा उघारेर प्राणप्रतिष्ठा गरिएपछि प्रतिमामा साक्षात देवी अवतरित हुने जनविश्वास छ ।    
    
देवी प्रतिमास्थल खुला गरिनुअघि आज एकाबिहानै बाजागाजासहित बेलको रुखनिर पुगेको पुरोहितसहितको टोलीले आँखा उघार्ने प्रयोजनका लागि शनिबार (षष्ठी अर्थात् नवरात्रको छैटौँ दिन) निम्ता गरिएको बेल टिपेर ल्याएको थियो । त्यही बेलको भट्नुले देवी प्रतिमाको आँखा खोस्रेर उघारिएको थियो । यसअघि हिजो षष्ठीका दिन बेललाई रातो रुमालले बाँधेर ‘बेलनौत’ (बेलनिम्ता) विधि सम्पन्न गरिएको थियो ।    
    
फूलपातीका दिन आज मिथिला क्षेत्रका देवी शक्तिपीठ र मन्दिरमा विशेष पूजाअर्चना गरेर पशुबलि दिन थालिएको छ । दसैँ पर्वका अवसरमा जिल्लाको औरही नगरपालिका–७ को भोइलस्थित सोनामाई मन्दिरमा नवरात्रकोे पाँचौँ दिनदेखि नै भूतमेला (तान्त्रिक) सुरु भएको छ । अघि सत्ययुगमा दुर्गा भवानीले दमन गरेकी राक्षसी दुष्ट आत्मा र तिनका अनुयायीले दुःख दिएकाहरूको दुःख निवारणका लागि धामी–झाँक्रीले ती दुष्टात्मालाई तह लगाउन तान्त्रिक विधिबाट देवीको आराधना गरिने चलनलाई यहाँ बोलीचालीमा भूतमेला भन्ने गरिएको हो । यस्तो बेला साधकको साधनाबाट दुष्टात्मा त्यहीँ नै छट्टाउने गरेका सोनामाईस्थानका मुख्य पुजारी केदार झाले जानकारी दिनुभयो । ।    
    
महोत्तरीका देवी शक्तिपीठ र सोनामाई, बर्दिबास नगरपालिका–४ माइस्थानस्थित पञ्चधुरा माई, जलेश्वर नगरपालिका–१ स्थित संसारीमाई, राजदेवी माई, भङ्गाहा नगरपालिका–५ स्थित गढीमाई, दुर्गा मन्दिर र पिपरा गाउँपालिकाको बनौली मोडस्थित बौधिमाई मन्दिरमा फूलपाती विशेष पूजासँगै पशबलि दिन थालिएको छ ।    
    
महोत्तरीका यी देवी शक्तिपीठ र मन्दिरबाहेक ४० भन्दा बढी ठाउँमा देवी प्रतिमा निर्माण गरिएका छन् । यी ठाउँमा आयोजित दुर्गा मेला (जात्रा)मा आयोजित खेल तमासा हेर्न आज एकाबिहानैदेखि दर्शकको भीड बढ्दो छ । मिथिलामा पर्वविशेषमा बनाइएका माटाका देवी प्रतिमा विजयादशमीका दिन जलाशयमा विसर्जन गरेसँगै दुर्गा मेला सम्पन्न हुने परम्परा छ ।    

स्रोत (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट