दिलीप हत्या प्रकरणः न्याय माग्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइयो

  न्यूज डेस्क
  ३० पौष २०७९

                            

काठमाडौं- स्वर्गीय ओम प्रकाश महतो (दिलीप)का परिवारले न्या माग्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाएका छन्। चुरे तथा पर्यावरण संरक्षण अभियन्ता धनुषाको मिथिला-५ श्रीपुरका महतोको २५ पुस २०७६ मा हत्या भएको थियो। क्रसर व्यवसायीले कुटपिटपछि टिपरले किचेर हत्या गरेको पीडितका परिवारको आरोप छ। हत्या भएको तीन वर्षसम्म दोषीलाई कारबाही नगरिएको भन्दै पीडितका परिवारले गृहमन्त्रीलाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएका हुन्।

जिल्ला आदालत धनुषाले मुद्दा सुनवाइमा ढिलाई गरेको, खोलाको अबैध उत्खन्न नरोकिएको भन्दै स्वर्गीय महतोकी आमा चन्द्रकला देवी, बुबा रामजीवन महतो, दिदीबहिनी सविता, लक्ष्मीसहित वातावरण संरक्षण अभियन्ताले गृहमन्त्रीलाई पाँच बुँदे ज्ञापन पत्र बुझाएका छन्।

स्वर्गीय महतोलाई नेपालको पहिलो पर्यावरण शहीद घोषणा गर्नु पर्ने, घटनाका दोषीलाई कानूनी कारबाही हुनुपर्ने, घटनाको छानविन गर्न उच्चस्तरीय न्यायीक छानविन समिति गठन गर्नुपर्ने लगायतका माग गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।

अबैध खोला उत्खन्न तथा क्रसर बन्द गरिनु पर्ने, चुरे संरक्षण गर्न ऐन बनाउनु पर्ने र पीडित परिवारलाई क्षतिपुर्ती दिनु पर्ने माग पीडित परिवारको छ।

पीडित परिवारले बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री लामिछाने पीडित परिवारका माग पूरा गराउने आश्वासन दिएका छन्। ‘अदालतमा मुद्दा चलिरहेको छ। अदालतले न्याय दिन्छ भनेर विश्वास गर्नुस्। म माथि पनि अदालतमा मुद्दा परेको छ। मैले पनि अदालतले न्याय दिन्छ भनेर आशा गरेको छु। तपाइँ पनि म जस्तै विश्वास गर्नुस’, उपप्रधान तथा गृहमन्त्री लामिछानेले पीडित परिवारलाई आश्वासन दिदैं भने, ‘घटनाका दोषीलाई कानूनी कारबाही गर्न तत्काल काम थाल्छु। अबैध क्रसर बन्द गर्न निर्देशन दिइसकेको छु। काम भइरहेको छ।’

महतोका बुबा रामजीवनले मनसायपूर्वक छोराको हत्या गरेको भन्दै चुरियामाई बालुवा प्रशोधन उद्योग सञ्चालक विपीनकुमार महतो, उनका दाइ विनोदकुमार महतो र उद्योगमा कार्यरत मुनिन्द्र महतो, जितेन्द्र महतो, सत्यनारायण महतो, शत्रुधन महतो र छोराकै साथी रोशनकुमार यादवविरुद्ध मुद्दा दायर गरेका थिए। तर, यसअघि जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेले उद्योग सञ्चालक विपीन तथा कर्मचारी मुनिन्द्र र जितेन्द्रलाई मात्रै मुद्दाको फैसला नहोउन्जेलसम्म थुनामा राख्न आदेश भएपछि उनीहरू कारागारमा छन्। रोशन, सत्यनारायण र शत्रुधन भने २५ हजार रुपैयाँ धरौटीमा छुटिसकेका छन्।

एक वर्ष फरार रहेर अदालतमा हाजिर भएका उद्योगका अर्का सञ्चालक विनोद साधारण तारेखमा बसे हुने गरी २०७७ असोज २६ मा जिल्ला अदालतबाट अनुमति पाएपछि उनले फेरि क्रसर उद्योग सञ्चालनमा ल्याएका छन्।

महतोको हत्याविरुद्ध दायर अभियोगपत्रमा अपराधमा प्रयोग गरिएको साधन तथा कसुरजन्य सम्पत्ति रोक्का राख्न तथा नियन्त्रण गरी जफत गर्न समेत माग गरिएको छ। गैरकानूनी रूपमा उत्खनन गरिरहेको उद्योग परिसरमै महतोको हत्या भएकाले उक्त सम्पत्ति पनि रोक्का गर्न माग गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट