पहिलो महिला सरकार प्रमुख बनिन् कार्की

  डेटूडे खबर डेस्क
  २७ भदौ २०८२

                            

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने भएसँगै देशले पहिलो महिला नेतृत्व पाएको छ ।

राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै कार्कीको आजै केहीबेरपछि शपथ हुँदैछ । योसँगै उनी देशको पहिलो महिला नेतृत्वको रुपमा बागडोर सम्हाल्न पुगेकी हुन् ।

कार्कीले पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी थिइन् ।

प्रधानन्यायाधीशबाट अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला सरकार प्रमुखको इतिहास पनि रचेकी हुन् ।न्यायपालिकामा रहँदा हक्की र इमानदार स्वभावका कारण उनी चर्चामा आएकी हुन् ।

यसपटक सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलनपछि देशका तीनवटै अंग ध्वस्त भएका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो ।

प्रधानमन्त्रीको राजीनामालगत्तै प्रधानसेनापति समेतको सहभागितामा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका थिए ।

कार्कीले जेनजीको प्रदर्शनका दौरान भएको क्षतिग्रस्त संरचनाबाट मुलुकलाई नेतृत्व प्रदान गरेर अबको निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट