जग्गा विवादका कारण ९ वर्षीय बालकको हत्या, काकासहित दुईजना पक्राउ

  डेटूडे खबर डेस्क
  ०६ माघ २०७९

                            

रौतहट । ९ वर्षीय बालकको हत्या गरेर शव नदीमा फालेको आरोपमा रौतहटबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

रौतहटको माधवनारायण नगरपालिका ८ पिपरा रजवाडाका ९ वर्षिय बालक आशनारायण प्रसाद कुशवाहाको हत्या गरेको आरोपमा  उनका काका जयराम महतो कोइरी र सोही स्थानका सञ्जय रामलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जग्गा सम्बन्धी पुरानो रिसवी र सधैंको झै-झगडाका कारण काका जयरामले भतिजा आशनारायणको हत्या गरेका छन् ।

गत वर्ष मंसिर २५ गते घरबाट हराएका आशनारायणको शव पुस १ गते माधवनारायण नगरपालिका ८ स्थित बागमती नदीमा फेला परेको थियो । २५ गते घर बाहिर खेलिरहेका आशनारायणलाई काका जयराम महतो र उनका सहयोगी सञ्जय रामले मुख थुनेर नजिकै रहेको छाप्रोमा लगेर कपडाले हातखुट्टा बाँधेर हत्या गरेका प्रहरीको आरोप छ ।

‘हत्या गरेको दिन उनीहरुले बालकको शवलाई सोही छाप्रोमा लुकाए । दोश्रो दिन राति घर भन्दा १ मिलोमिटर टाढा रहेको परालको थुप्रोमा लुकाए,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले भने, ‘कसैलाई शंका नहोस भनेर काका जयराम परिवारजनसँगै खोजतलाश गर्न पनि गए । उनीहरुले २९ गते राति लाशलाई बोरामा हालेर बागमती नदीमा फालेको अनुसन्धानले देखायो ।’

उनीहरुले बालकको हत्यामा प्रयोग गरेका कपडा, बोरा लगायतका सामग्री समेत प्रहरीले फेला पारेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिलला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट