हिरासतबाट फरार मध्ये २अझै बेपक्ता
.jpg)
डेटूडे खबर डेस्क
२७ माघ २०७९
जनकपुरधाम । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्ष फोडेर फरार भएका ६ जना मध्ये दुई जना अझै पक्राउ परेका छैनन् । उनीहरु फरार भएको ११ दिन बितिसक्दासमेत पक्राउ परेका छैनन् ।
यही माघ १५ गते राति हिरासत फुटाएर ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये चार जना पक्राउ परिसकेका छन् । क्षीरेश्वरनाथ नगरपालिका २ का रोशन यादव र मिथिला नगरपालिका ६ का शंकर महतो पक्राउ पर्न बाँकी छन् । फरार यादव सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दामा थुनामा थिए भने महतो हात हतियार तथा खरखजाना मुद्दामा पक्राउ परेका थिए । यादव माघ ४ गते र महतो १३ गते पक्राउ परेका थिए । यद्यपि प्रहरीले मुख्य योजनाकार क्षीरेश्वरनाथ नगरपालिका ५ का विनोद शर्मासहित चार जनालाई पक्राउ गरिसकेका छन् । फरार भएका मध्ये प्रहरीले मिथिला नगरपालिका २ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ नगरपालिका २ का २५ वर्षीय अमित मण्डल, मिथिला नगरपालिका ६ का रोशनकुमार महतोलाई पक्राउ गरिसकेका छन् ।
यस घटनामा मधेश प्रदेश प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षक मनोज यादवको नेतृत्वमा र जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीको नेतृत्व छानबिन समिति बनाएको थियो । तर बीचमै धनुषाका प्रहरी उपरीक्षक क्षेत्रीको सरुवा भइसकेको छ । सो समितिले घटना बारे अझै अनुसन्धान गरिरहेको बुझिएको छ । सबै फरार थुनुवा पक्राउ परेपछि बयान र अनुसन्धानको आधारमा प्रहरी प्रमुखलाई प्रतिवेदन बुझाउने तयारीमा छन् । सो घटनामा तीन जना प्रहरीलाई निलम्बन पनि गरिएको छ। हिरासत कक्ष अधिकृत सहायक प्रहरी निरीक्षक (असइ) अशोक मण्डल, प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको छ भने त्यहाँ कार्यरत २६ जना प्रहरीलाई पनि जिल्लामा तानिएको छ ।