नापी कार्यालय गरुडामा राजस्व संकलन बढ्यो

डेटूडे खबर डेस्क
०८ फाल्गुण २०७९
रौतहट । रौतहटको नापी कार्यालय गरुडामा राजस्व संकलनमा वृद्धि हुँदै गएको छ। नापी कार्यालय गरुडामा यो चालू आवको ७ महिनामा साढे ८ लाख रूपैयाँ राजस्व संकलन भएको छ।
आव ०७७/७८ मा कुल साढे ८ लाख रूपैयाँ राजस्व संकलन भएकोमा आव ०७८/७९ मा साढे ११ लाख रूपैयाँ राजस्व संकलन भएको नापी कार्यालय गरुडाले जनाएको छ।
आर्थिक वर्ष ०७७/७८ को तुलनामा गत आर्थिक वर्ष ०७८/७९ मा ३ लाख रुपैयाँ बढी राजस्व संकलन गरिएको नापी कार्यालय गरुडाका कार्यालय प्रमुख यशवन्त सिंहले बताएका छन्। नक्सा प्रिन्ट दस्तुर, ब्लू प्रिन्ट, फिल्ड बुक उतार, सेवा शुल्कलगायत विविध शुल्कवापत उक्त राजस्व संकलन गरिएको उनले बताए।
बैंकहरुले ऋण दिन थालेपछि बैंकिंङका लागि नक्सा प्रिन्ट, ब्लू प्रिन्ट, फिल्ड बुक उतारलगायत कागजात आवश्यक पर्ने भएकोले अहिले सेवाग्राहीको चाप बढेको उनले बताए। सार्वजनिक सेवा प्रवाहमा कुनै समस्या नरहेको बताउँदै उनले कार्यालयमा सेवा प्रवाह चुस्त र दुरुस्त बनाइएको दावी गरे।