१५ दिने मिथिला मध्यमिकी परिक्रमा आज देखि सुरु

  डेटूडे खबर डेस्क
  ०८ फाल्गुण २०७९

                            

जनकपुरधाम । १५ दिने मिथिला मध्यमिकी परिक्रमा सोमबार (आज)देखि सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी कुटिबाट डोला निस्केसँगै परिक्रमा सुरु भएको छ ।

त्रेता युगदेखि जनकपुरधामस्थित सुन्दर सदन कुटिबाट किशोरीजी र कचुरीबाट मिथिला बिहारीको डोलासँगै १५ दिने मिथिला माध्यमिकी परिक्रमा हुँदै आएको छ । नेपालकै सबैभन्दा लामो १५ दिने मिथिला मध्यमिक परिक्रमाको क्रममा नेपाल र भारतका १५ धार्मिक स्थानमा श्रद्धालुहरु पुग्ने गर्छन् । सोमबार कचुरीबाट निस्केको परिक्रमाका यात्रु साँझसम्म जनकपुरधामको हनुमाननगर(हनुमान गढी) मा पुगी विश्राम गर्नेछन् । फागुन शुक्ल औंसीको दिन कचुरीबाट निकालिएको डोला हनुमानगढीमा विश्राम गरेर मंगलबार भारतको कल्याणेश्वर जानेछ । हनुमानगढीबाट निस्केपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुवात हुन्छ ।

नेपालको धार्मिक ऐतिहासिक ठाउँहरुको १०७ किलोमिटर र भारतको २६ किलोमिटर गरी जम्मा १३३ किलोमिटर भूभागको श्रद्धालुहरु परिक्रमा गर्ने गर्छन् । मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने गरेका छन् । त्यसपछि पुनः भारतको करुणा, विशौललगायतका धार्मिक स्थल हुँदै १४ औं दिनमा जनकपुरधाम फर्कनेछ । एक दिन जनकपुरधाममा विश्राम गरी भोली पल्ट अन्तगृही परिक्रमा गरी १५ दिने परिक्रमा सम्पन्न हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट