जनमत पार्टी सरकारबाट बाहिरिने अवस्था छैन : अध्यक्ष राउत

डेटूडे खबर डेस्क
१६ फाल्गुण २०७९
काठमाण्डाै । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफूहरू सरकारबाट नबाहिरिने बताएका छन् ।
मङ्गलवार काठमाण्डाैमा आयोजित विद्यार्थी सङ्घको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राउतले अन्य पार्टीहरू आफ्नो माग पूरा नभएकाले बाहिरिएको भन्दै जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको बताए। राउतले माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकोले सरकार बदलिएको भन्न नमिल्ने बताए। सरकारमा सामेल भएका दलहरू फेरिने भए पनि सरकार नफेरिने उनकाे भनाइ छ । जनमत पार्टी सरकारमा यथावत् रहेको उनले स्पष्ट पारे ।
राउतले भने, ‘अहिले हाम्राे पार्टी सरकारबाहिर आउनु परोस् भन्ने परिस्थिति बनेको छैन । अरू पार्टीहरु त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बारिरिएको हो । जनमत पार्टीका लागि त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन । त्यही भएर जनमत पार्टी सरकारमा यथावत् छ ।’
अध्यक्ष राउतले राष्ट्रपतिमा आफूहरूले स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्ति खोजेको उल्लेख गर्दै त्यही बमोजिमको पात्रको रूपमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताए । जनमत पार्टी राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिन नहुने पक्षमा रहेकाले पनि पौडेललाई समर्थन गरेको उनले बताए । राष्ट्रपति र सभामुख एउटै दलको भएमा निरङ्कुशता जन्मिन सक्ने उनकाे तर्क छ । आउँदाे राष्ट्रपतिले संसदबाट पारित भएका विधेयकहरूलाई उदारतापूर्वक प्रमाणीकरण गर्नुपर्ने उनले बताए ।
अध्यक्ष राउतले नागरिकता विधेयक, राजबन्दीको रिहाइ र किसान आन्दोलन लगायतका आफ्नो पार्टीले उठाएको एजेन्डा सम्बोधन हुने अवस्था नआएमा सरकारलाई गरेको समर्थन फिर्ता हुन सक्ने बताए। यद्यपि यी मागहरू पूरा गर्नका लागि सरकारलाई समय भने दिइने उनकाे भनाइ छ ।