नेहाको ससुरा जेल चलान

डेटूडे संवाददाता
०१ चैत्र २०७९
जनकपुरधाम । छोरा डा. पंकज चौधरीको विवाहमा दाइजो लिएको आरोपमा महोत्तरी रामगोपालपुर नगरपालिका- ५ का रामप्रवेश चौधरीलाई पुर्पक्षको लागि जेल चलान गरिएको छ ।
मंगलबार जिल्ला अदालत महोत्तरीले चौधरीलाई जेल चलान गर्ने आदेश दिएको छ ।
नेहा चौधरीले दिएको दाइजो सम्बन्धी कसूर मुद्दामा थुनछेक बहस भएको थियो । जिल्ला अदालत महोत्तरीका न्यायाधीश बाबुराम सुवेदीको इजलासले सो आदेश दिएको जाहेरीवलाको वकिल रिंकु कुमारी यादवले जानकारी दिइन् ।
गत आइतबार प्रहरीले चौधरी लुकीछिपी बसिरहेको अवस्थामा मनरासिस्वा नगरपालिका- २ कट्टी गाउँबाट पक्राउ गरेका थिए ।
तीनवर्षको प्रेम पश्चात २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । विवाहको चार महिनापछि दुबैबीचकाे सम्बन्ध चिसिएको थियो।
नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दायर गरेकी छन् भने पंकजले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् ।