२०७९ मा सर्वाधिक कमाइ गर्ने सात नेपाली चलचित्र

  डेटूडे खबर डेस्क
  २८ चैत्र २०७९

                            

काठमाडौं : चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्यांक सार्वजनिक गरेको छ।

बोर्डका अनुसार २०७९ सालमा नेपाली ५२ र विदेशी ८३ गरी १३५ चलचित्र प्रदर्शन भए पनि १३२ वटा चलचित्रको कमाइ सार्वजनिक गरिएको हो। बोर्डको विवरणअनुसार चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को ७ लाख ६६ हजार ७ सय टिकट बिक्री भएबापत रु. २१ करोड ३८ लाख १३ हजार ४६२ जम्मा संकलन गरेको छ।

विदेशीतर्फ कन्नड चलचित्र ‘केजिएफ च्याप्टर २’ले ६ लाख ७७ हजार ६९९ टिकट बिक्री भएबापत रु. १९ करोड २९ लाख १३ हजार ७५८ जम्मा संकलन गरेको छ। नेपाली र विदेशीतर्फ सर्वाधिक कमाइ गर्ने यी दुई चलचित्र हुन्। बोर्डले सार्वजनिक गरेको तथ्यांकमा सामान्य फरक भने पर्न सक्ने बक्सअफिस अधिकृत प्रवीण पाण्डेले जानकारी दिए।

तथ्यांकअनुसार यो वर्षभर प्रदर्शन भएका चलचित्र शिवानीका पाँचवटा टिकट मात्रै बिक्री भएका छन्। यसबाट चलचित्रले रु. ५२० कुल संकलन गरेको छ।

‘सबै चलचित्र भवनमा बक्सअफिसको प्रविधि जडान भए पनि अनुगमनको अभावमा केही हेरफेर हुनसक्छ। केहीले नियतवश पनि गरिरहेका हुन्छन् तर बोर्डले यसमा अनुगमन बढाएको छ’, अधिकृत पाण्डेले भने, ‘हामीसँग रहेको आधिकारिक तथ्यांक सार्वजनिक गरेका हौँ।’ बोर्डले सार्वजनिक गरेको विवरणअनुसार सर्वाधिक व्यापार गर्ने सात नेपाली चलचित्र यसप्रकार छन्।

कबड्डी ४ : द फाइनल म्याच

‘कबड्डी’कै शृङ्खलाका रूपमा अगाडि बढिरहेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। बोर्डको विवरणअनुसार चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’को ७ लाख ६६ हजार ७ सय टिकट बिक्री भएबापत रु. २१ करोड ३८ लाख १३ हजार ४६२ कुल संकलन गर्न सफल भएको छ। बाँसुरी फिल्मस्‌को प्रस्तुतिमा तयार भएको चलचित्रमा सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायतका कलाकारको अभिनय छ।

छक्कापञ्जा ४

हास्यकलाकारको समूहले टेलिशृङ्खलामा पाइरहेको लोकप्रियतालाई ठूलो पर्दामा ल्याउन अभिनेता दीपकराज गिरीले ‘६ एकान ६’ मार्फत चलचित्र निर्माण शुरु गरे। त्यसपछि ‘वडा नम्बर ६’ हुँदै ‘छक्का पञ्जा’ निर्माण गरेको समूह अहिले यसकै शृङ्खलालाई अगाडि बढाइरहेका छन्। गत फागुन १९ देखि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ ले बोर्डको विवरणअनुसार ६ लाख ८ हजार ४०२ दुई टिकट बिक्री भएबापत रु. १६ करोड ९४ लाख ३४ हजार ६३४ कुल संकलन गरेको छ।

प्रदर्शनरत भएकाले यसको व्यापार अझै बढ्ने देखिन्छ। राजनीतिक विकृतिलाई प्रस्तुत गरिएको चलचित्रमा पिताको विरासत जोगाउन राजनीतिमा होमिएका दीपकराज गिरी (राजा) लाई खराब स्वभाव र शैलीको नेताका रुपमा चित्रण गरिएको छ। हेमराज बीसीले निर्देशन गरेको चलचित्रमा नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकी लगायतको अभिनय छ।

प्रेम गीत ३

‘प्रेम गीत’ को तेस्रो शृङ्खलाका रूपमा प्रदर्शन भएको ‘प्रेम गीत ३’ नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको थियो। सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनीष राउत, सुनिल थापा र शिव श्रेष्ठ लगायतको अभिनय छ। प्रेम कथानक चलचित्रको पहिचान बनाएको शृङ्खलाबाटै अभिनेता खड्का अहिलेको उचाइमा पुगेका हुन्। चलचित्रले नेपाली भाषामा दुई लाख ६९ हजार ७४४ टिकट बिक्री भएबापत रु. ७ करोड ७० लाख ३५ हजार ५५८ र हिन्दी भाषामा ८३ हजार १४४ टिकट बिक्री भएबापत २ करोड २७ लाख २९ हजार ३६७ रुपैयाँ कुल संकलन गरेको छ।

महापुरुष

सर्वाधिक कमाइ गर्ने चौथो चलचित्र ‘महापुरुष’ बनेको छ। चलचित्रले २ लाख ४७ हजार ५१७ टिकट बिक्री भएबापत ७ करोड ३८ लाख ९० हजार ६७० रुपैयाँ संकलन गरेको छ। प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, नरेश पौड्याल, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन्।

यसमा एक्लो जीवन बिताइरहेका अभिभावकको कथा र चाहनालाई देखाइएको छ। षट्कोण आर्ट्स प्रालिको ब्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ र निर्माता दीपेश खत्री हुन्।

दुई नम्बरी

दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘दुई नम्बरी’ सर्वाधिक व्यापार गर्ने चलचित्रको पाँचौँ नम्बरमा छ। चलचित्रको १ लाख ४१ हजार ६३९ टिकट बिक्री भएबापत रु. ३ करोड ८४ लाख ७३ हजार ५२० कुल संकलन गरेको छ। मित्रताको कथामा आधारित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, बुद्धि तामाङ, पुस्कर गुरुङ लगायतले अभिनय गरेका छन्। भुटानी अभिनेत्री उगेन छोदेनले ‘दुई नम्बरी’ मार्फत नेपाली चलचित्रमा अभिनयको शुरुआत गरेकी थिइन्।

फूलबारी

रामबाबु गुरुङले निर्देशन गरेको भएको चलचित्र ‘फूलबारी’ सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा छैटौँ स्थानमा छ। अवकाशप्राप्त शिक्षकको जीवनी देखाइएको चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनीष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राईले अभिनय गरेका छन्। चलचित्रले १ लाख २६ हजार १९० टिकट बिक्री भएबापत ३ करोड ५२ लाख ८९ हजार ४५९ रुपैयाँ कुल संकलन गरेको छ। अभिभावकले सन्तानबाट राख्ने अपेक्षा र सन्तानले भुलेको संस्कारलाई कथा बनाइएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको छ।

झिङ्गेदाउ 

ज्ञानेन्द्र देउजाले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘झिङ्गेदाउ’ सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीको सातौँ स्थानमा छ। बोर्डको विवरणअनुसार चलचित्र १ लाख २२ हजार २९० टिकट बिक्री भएबापत ३ करोड ४१ लाख १३ हजार २२३ रुपैयाँ कुल संकलन गरेको छ। चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, हिउँवाला गौतम लगायतले अभिनय गरेका छन्। स्वर्गीय भीमनिधि तिवारीको सोही नामको कृतिमा आधारित चलचित्र ‘झिङ्गेदाउ’मा प्राचीन नेपाली समाजको कथा प्रस्तुत गरिएको छ। देउरानी-जेठानीको सामान्य झगडाबाट परिवारमा आउने आरोहअवरोहलाई प्रस्तुत गरिएको चलचित्रमा आमा र दुई दाजुभाइको भावनात्मक सम्बन्धलाई चित्रण गरिएको छ।

थाहाखबरबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट