देशभरका शिवालयमा साउने सोमबारको व्रत उद्यापन गर्नेको घुइँचो

  न्यूज डेस्क
  ११ भदौ २०८०

                            

काठमाडौं । चान्द्रमास अनुसार श्रावण महिनाको अन्तिम सोमबार आज पशुपति क्षेत्रमा साउने सोमबारको व्रत उद्यापन गर्नेको घुइँचो लागेको छ । सौरमास अनुसार साउन महिनामा अधिकमास परेकाले वर्तालुले व्रत उद्यापन गर्न पाएका थिएनन् ।

पशुपतिनाथलगायत देशभरका शिवालयमा श्रावणभरी व्रत गरेका वर्तालुले आज गोदान र पूर्णपात्र दान गरी उद्यापन गरिरहेका छन् । श्रावण शुक्ल पक्षभर पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा महाशिवरात्रि र तीजको अवसरमा जस्तैगरी भक्तजनका लागि व्यवस्था गरिएको जनाएको छ ।

आज बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खुला गरिएको कोष, संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले  जानकारी दिए । पशुपति क्षेत्रमा आज बिहानैदेखि साउने सोमबारको व्रत गरेका विशेषगरी रातो र हरियो पहिरनमा सजिएका महिला भक्तजनको बढी भीड देखिएको थियो ।

दिउँसोपछि भने पशुपति क्षेत्रमा रहेका ब्राह्मण, पुरोहितसँग गोदान र पूर्णपात्र गराई व्रत उद्यापन गर्नेको भीड लागेको उनले बताए । साउनको सोमबार व्रत गरी पशुपतिनाथलगायत शिवालयमा पूजा, आराधनासहित दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

साउन महिनामा शुद्ध जल ल्याई पशुपतिनाथमा बोलबम यात्रा गरेर जल चढाउने भक्तजनको भीड लाग्ने गर्दछ । आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ र भारतीय राजदूतावसामार्फत् आएका भारतका उच्च सैनिक अधिकारीले पनि आज पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवम् दर्शन गरेको कोषले जनाएको छ ।

राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । यसैगरी देशभरका अन्य ठूला, साना शिवालयमा पनि भक्तजनको भीड लागेको जनाइएको छ ।

साउनको सोमबार व्रत बसी शिवालयमा जान नसक्ने भक्तजनले भने घरमै गोदान र पूर्णपात्रदान गरी व्रत उद्यापन गर्ने व्रत विधि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट