५७ जिल्लामा फैलियाे डेङ्गी सङ्क्रमण

  डेटूडे खबर डेस्क
  ११ जेठ २०८१

                            

 जनकपुरधाम । डेङ्गी रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । पानी पर्न थालेपछि डेङ्गीको सङ्क्रमण पनि बढ्न थालेको हो । यस वर्ष ५७ वटा जिल्लाका नौ सय चार जनामा डेङ्गी सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए ।

उहाँका अनुसार पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गीको जोखिम बढेको हो । शाखा प्रमुख दाहालले पानी पनि पर्न शुरु भएसँगै डेङ्गीको जोखिम बढ्ने भएकाले सचेतना अपनाउन आग्रह गरे ।

गएको वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको थियो । लामखुट्टेको टोकाइबाट बच्न सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट