गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

  डेटूडे खबर डेस्क
  ११ जेठ २०८३

                            

काठमाडाैँ ।

प्रधानमन्त्री बालेन शाहले यस वर्षको गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । उनले समारोहमा सम्बोधन नगर्ने जानकारी राष्ट्रपति कार्यालयलाई औपचारिक रूपमा गराइसकेको स्रोतले जनाएको छ ।

हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिन्छ । उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहने गर्दछ । समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको छ ।

तर प्रधानमन्त्री बनेयता सार्वजनिक समारोहहरूमा कम देखिएका बालेन शाहले यस पटकको गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने निर्णय गरेका हुन् । स्रोतका अनुसार उनले समारोहमा राष्ट्रपतिले सम्बोधन गरिदिन आग्रह गर्दै पत्राचार गरेका छन् ।

“गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले टुँडिखेलमा सम्बोधन नगरी राष्ट्रपतिलाई सम्बोधन गर्न अनुरोधसहित पत्र पठाइएको छ,” स्रोतले जनाएको छ । गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई मानिने भएकाले गणतन्त्र दिवस समारोहमा राष्ट्रपतिबाट सम्बोधन गराउन अनुरोध गरिएको पत्रमा उल्लेख गरिएको स्रोतको भनाइ छ ।

नेपालको संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ । सो धाराको उपधारा २ अनुसार मन्त्रिपरिषद्को सिफारिस र सम्मतिमा राष्ट्रपतिले काम गर्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्थाअनुसार यस वर्ष गणतन्त्र दिवस समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट