श्रीमानसंग मिलेर प्रेमी अन्सारीको हत्या
_1740655364.jpg)
डेटूडे खबर डेस्क
१५ फाल्गुण २०८१
जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको ३३ वर्षीय शव शहीद अन्सारीको भएको पुष्टि भएको छ।
अनुसन्धानमा अन्सारीको उनकी प्रेमिका अनिताकुमारी यादव र उनका श्रीमान राजकिशोर यादवले मिलेर हत्या गरेको खुलेको छ। कतारमा कार्यरत अन्सारी र अनिताबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो। अनिताले श्रीमान बिरामी रहेको बहाना बनाई अन्सारीलाई नेपाल बोलाएकी थिइन्।
२०८१ मंसिर २७ गते अनिता र उनका श्रीमानले अन्सारीलाई बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताए। हत्यापछि शव जुटको बोरामा बेरेर खैरा खोलामा फालिएको थियो।
शव पहिचान गर्न नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको थियो। माघ १० गते मृतककी श्रीमती अजिमा खातुनले प्रहरीको फेसबुक पेजमा फोटो हेरेर सनाखत गरेपछि घटना सार्वजनिक भएको थियो।
अनिता यादवलाई गाउँबाटै पक्राउ गरी अदालतबाट तीन दिनको म्याद थप गरिएको छ भने उनका श्रीमान् राजकिशोर यादव हत्यापछि साउदी अरब फरार रहेको उपरीक्षक तिवारीले बताए। उनलाई नेपाल फर्काउन कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।