काठमाडौँ । जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले पीडितहरूको माग तत्काल पूरा गर्न सरकारसँग माग गरेका छन्।
आइतवार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा उनले शहीद परिवारको माग भोलि (सोमबार) बिहानसम्म सम्बोधन नभए सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि ढल्ने चेतावनी दिए।
पीडितले न्याय पाउने कुरा सुनिश्चित नभए सरकार फेरि पनि ढल्ने अभियन्ता गुरुङको जिकिर थियो। नवनियुक्त प्रधानमन्त्री कार्कीले सिंहदरवार पुगेर पदभार ग्रहण गरेको केहीबेरमै उहाँले उक्त प्रतिक्रिया दिएका हुन्।
अभियन्ता गुरुङले भने, ‘हाम्रो माग अझै पनि पूरा भएको छैन‚ जारी छ। मलाई इण्डियन, चाइनिज जे भने पनि मेरो निम्ति देश ठूलो हो, लडछु। भोलि बिहानसम्म उनीहरूको माग पूरा हुन्छ। माग पूरा नभए सरकार फेरि पनि ढल्छ। पीडितले न्याय पाउने कुरा कन्फर्म भएको छैन। त्यो नभएसम्म जुनसुकै सरकार आए पनि ढल्छ। टेन्सन नलिए हुन्छ। म छु–एक्लै भएपनि लड्छु।’
कार्यक्रममा शहीद परिवारका सदस्यहरुले पनि जेनजी आन्दोलन दमन गरी हत्या गर्ने काममा संलग्नहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका थिए।
शहीद प्रवीण कुलुङकी दिदी अनिता कुलुङले उक्तसो आन्दोलनमा दमन गरी हत्या गर्ने कार्यमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्री सुशीला कार्कीसँग माग गरिन्।