क्षतिग्रस्त शैक्षिक संस्थाहरूको विवरण संकलन गर्दै सरकार

  डेटूडे खबर डेस्क
  ३१ भदौ २०८२

                            

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका बेला क्षति पुगेको शैक्षिक संस्थाहरूको विवरण संकलन गर्न थालेको छ।

 शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक एवं प्रवक्ता महेन्द्र पराजुलीले अहिले क्षति पुगेको विद्यालयको विवरण संकलन गरिरहेको जानकारी दिए।

उनले भने, ‘हामीले क्षति पुगेका विद्यालयहरूको विवरण संकलन गर्दै आएका छौँ, के कतिमा क्षति पुग्यो भन्ने केही दिनमै विवरण आएपछि जानकारी हुनेछ।’ हालसम्म हेर्दा बढी निजी शैक्षिक संस्थामा मात्रै क्षति भएको देखिएको छ।

भदौ २४ गते भएको प्रदर्शनकारीहरूले ललितपुर महानगरपालिका-१५ खुमलटारमा सञ्चालित युलेन्स स्कुल पूर्ण रूपमा जलाएर ध्वस्त बनाएका छन्। नेपाली कांग्रेसकी नेत्री आरजु राणा अध्यक्ष भएको यो स्कुलको अहिले जलेर भग्नावशेषमा परिणत छ।

यसैगरी बानेश्वरमा रहेको ग्लोबल कलेजमा आगजनी गरी भौतिक क्षति गरिएको छ। कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजमा पनि तोडफोड र लुटपाट भएको छ। कलेजका अनुसार लुटेरा समूहले कम्प्युटर, ल्यापटप, क्यामेरा, टेबुल, कुर्सी,किचनबाट भाँडाकुँडा र चामल लुटेका थिए।

भदौ २३ र २४ गते सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध भएको जेनजीको आन्दोलनमा ठूलो मानवीय क्षतिसँगै सार्वजनिक र निजी लगानीका होटल,पसलहरूमा क्षति भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट