बेलुकीदेखि मौसममा सुधार हुने

  डेटूडे खबर डेस्क
  १९ असोज २०८२

                            

जनकपुरधाम । बागमती, मधेश र कोशी प्रदेशमा गएरातिसम्म ठूलो पानी परेकोमा बिस्तारै कम हुन थालेको छ । ठूलो पानी पार्ने प्रणाली अब कोशी प्रदेशमा मात्रै केन्द्रित भएको छ । यसअघि आज र भोलिसम्म नै ठूलो पानी पर्ने पूर्वानुमान गरिए पनि पानी पार्ने प्रणाली विस्तारै कमजोर बन्दै गएको र अब ठूलो वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी गराए ।

ठूलो पानी पार्ने प्रणाली अहिले कोशी प्रदेशमा केन्द्रित रहेको र दिउँसोपछि विस्तारै मत्थर हुँदै जाने विभागको भनाइ छ । ठूलो पानी पर्ने सम्भावना नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको मौसमविदले जानकारी दिनुभयो । बितेको २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा ठूलो पानी परेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती प्रदेश र मधेस प्रदेशका क्षेत्रमा वर्षाको तीव्रता बिस्तारै घट्न थालेको छ । कोशी प्रदेशका भने धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भइरहेको र यो अझै केही घण्टा कायम रहन सक्ने देखिएको छ । अहिले आठ वटा नदी केन्द्रमा जलसतह खतरा तहभन्दा माथि छ । जसमा बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बुढी खोला, बिरिङ खोला लगायत नदीका बाढीमापन केन्द्र छन् ।

कोशी, मधेश र बागमती प्रदेशका अरू सबै नदीनालाहरूमा बहाब सतर्कता तह नजिक रहेको विभागले जनाएको छ । पानी परिरहेका ठाउँ र पानी पर्न रोकिएका ठाउँका नदी खोलाहरुमा पनि बेलुकीसम्मै बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार पानी पर्न रोकिए पनि केही घण्टासम्म बाढीको जोखिम कायमै रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट