नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक विजयी
डेटूडे खबर डेस्क
०३ पौष २०८२
काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । ओलीले १ हजार ६६३ मत र अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् ।
केपी शर्मा ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएको हो । उनी काठमाण्डाैमा २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा माधव नेपाललाई ४४ मतले पराजित गर्दै पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि २०७८ सालमा चितवनमा भएकाे सौरहा महाधिवेशनबाट उनी दोस्रो पटक अध्यक्ष चुनिए । २०६५ सालमा काठमाण्डाैमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए ।
पूर्वमहासचिवसमेत रहेका ईश्वर पोखरेलले भने अध्यक्ष पदका लागि पहिलो पटक प्रतिस्पर्धा गरेको हो ।
यस्तै एमाले महासचिवमा शङ्कर पोखरेल निर्वाचित भएका छन् । उनी यसअघि पनि महासचिव रहेका थिए । पोखरेलले १ हजार २ सय २८ मत प्राप्त गरे भने प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९ सय ९९ मत प्राप्त गरेका छन् ।
