जेन-जी घटनाको प्रतिवेदन २४ घण्टाभित्र सार्वजनिक गर्न अल्टिमेटम
डेटूडे खबर डेस्क
२५ फाल्गुण २०८२
काठमाडौँ । जेन-जी अलायन्स फर मोनार्कीले जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको पूर्ण प्रतिवेदन २४ घण्टाभित्र सार्वजनिक गर्न सरकारलाई अल्टिमेटम दिएको छ।
अलायन्सले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगको प्रतिवेदन सरकारको हातमा पुगिसकेको दाबी गर्दै अब कुनै बहाना नगरी नेपाली जनतासमक्ष तत्काल सार्वजनिक गर्न माग गरेको हो। अलायन्सका प्रवक्ता सनातम रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रतिवेदनको सम्पूर्ण विवरण यथावत् सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “हामी कुनै पनि यस्तो संस्करण स्वीकार गर्ने छैनौँ, जुन सम्पादन, संक्षेपण वा राजनीतिक स्वार्थअनुकूल परिवर्तन गरिएको होस्।” अलायन्सले प्रतिवेदनको मूल स्वरूपमै सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेको छ।
साथै, २४ घण्टाभित्र प्रतिवेदन सार्वजनिक नगरे वा छेडछाड गरिएको अपूर्ण प्रतिवेदन प्रस्तुत गरे देशमा थप अन्योल र अस्थिरता सिर्जना हुन सक्ने चेतावनी पनि अलायन्सले दिएको छ।अलायन्सका अनुसार जेन–जी घटनाबारे सत्यतथ्य सार्वजनिक हुनु लोकतन्त्र, पारदर्शिता र जनविश्वासका लागि आवश्यक रहेको उल्लेख गरिएको छ। संगठनले सरकारलाई जिम्मेवार ढंगले काम गर्दै प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेको छ।
