बङ्गलादेशमा वन्यजन्तुको सुरक्षाका लागि ‘एअर राइफल’ प्रयोगमा प्रतिबन्ध
डेटूडे खबर डेस्क
०१ पौष २०७८
जनकपुरधाम, ०१ पुस । बङ्गलादेशले वन्यजन्तुको सुरक्षाका लागि ‘एअर राइफल’ प्रयोगमा प्रतिबन्ध लगाएको छ । असुरक्षित वन्यजन्तुमा साइबेरियाबाट न्यानो हिउँदे हावापानीको खोजीमा बसाइँ सर्ने चराहरूको बथानलाई पनि समावेश गरिएको छ । बङ्गलादेशमा तीन दशक अघि नै वन्यजन्तुको सिकार गर्न रोकिएको थियो । तर पछिल्ला वर्ष चरा तथा अन्य जनावर सिकार गर्ने क्रम बढेपछि सरकारले एअर राइफलको प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको हो । खतराको सूचीमा परेका चराहरू ढाकाको सडकमा खुलेआम बेच्ने गरेको पाइन्छ । वन्यजन्तु र जङ्गली चरा सिकारीविरुद्धको अभियान नै घोषणा गरेको वन विभागका प्रमुख मोला रेजाउल करीमले बताउनुभएको छ । लोपाेन्मुख वन्यजन्तु संरक्षणमा बङ्गलादेशको यो प्रयास ‘कोशेढुङ्गा’ सावित हुने विश्वास गरिएको छ । बङ्गलादेशमा सात सयभन्दा धेरै प्रजातिका जङ्गली चराहरू भेटिन्छन् ।तर सिकार, जलवायु परिवर्तन र घट्दो जङ्गलका कारण सुरक्षित आवासको ह्रास हुँदै जाँदा उनीहरूको अस्तित्व सङ्कटमा परेको छ । एअर राइफल स्थानीय चराहरूको सुरक्षाका लागि सबैभन्दा बढी जोखिम बनेको चरा विशेषज्ञ शरिफ खानले बताउनुभएको छ ।