अस्ट्रेलियामा \'बाउन्सी क्यासल\' खेल्ने क्रममा चार जना विद्यार्थीको ज्यान गयो
डेटूडे खबर डेस्क
०१ पौष २०७८
जनकपुरधाम, ०१ पुस । अस्ट्रेलियामा हावा भरिएको प्लास्टिककाे घरमा खेल्ने क्रममा चार जना विद्यार्थीको ज्यान गएको छ ।
तास्मानिया डोभोनपोर्ट सहरको एक प्राथमिक विद्यालयमा 'बाउन्सी क्यासल' भनिने हावा भरिएको प्लास्टिककाे घर एक्कासी हुरीले उडाएको थियो । हुरीले उडाएको बाउन्सी क्यासलबाट खसेर चार जना विद्यार्थीको ज्यान गएको र पाँच जना घाइते भएका बीबीसीले जनाएको छ ।
बालबालिकाहरू झन्डै १० मिटर माथिबाट खसेको प्रहरीलाई उधृत गर्दै खबरमा उल्लेख छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले याे घटनालाई अकल्पनीय र हृदयविदारक भन्नुभएको छ । यो वर्षका लागि विद्यालय सञ्चालन हुने अन्तिम दिन भएकाले बालबालिका निकै खुसीका साथ खेलिरहेको बेला अचानक हुरी आएपछि घटना भएको थियो । घटनापछि तास्मानियाको डेभोनपोर्ट सहर शोकमा परेको खबरमा उल्लेख छ ।