ओमिक्रोनसँग जुध्न अमेरिकाले ५० करोड परीक्षण कीट किन्याे, नागरिकलाई नि:शुल्क उपलब्ध गराइने
डेटूडे खबर डेस्क
०७ पौष २०७८
जनकपुरधाम, ०७ पुस । अमेरिकाले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सँग जुध्न ५० करोड परीक्षण कीट खरिद गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘ओमिक्रोन’ भेरियन्टको फैलावटसँग जुध्नका लागि ५० करोड र्यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउन लागिएको बताउनुभएको छ ।
सङक्रमणविरुद्ध जुध्न परीक्षण तीव्र बनाउने र अस्पतालमा सेनाले सहयोग गर्ने पनि उहाँले जानकारी दिनुभएको बीबीसीले उल्लेख गरेको छ । अमेरिकामा ७३ प्रतिशत वयष्कले खोपको पूर्ण मात्रा प्राप्त गरेका छन् । अमेरिकामा पुष्टि भएका नयाँ सङ्क्रमितमध्ये झन्डै दुई तिहाइमा नयाँ भेरियन्ट पाइएको छ । न्यूयोर्क र वासिङटनसहित मुख्य शहरमा सङक्रमण बढ्दो छ । अमेरिकामा ओमिक्रोनका कारण एक जनाको ज्यान गएको छ । सुरुमा दक्षिण अफ्रिकामा पहिचान भएको ‘ओमिक्रोन’ भेरियन्ट अहिले विश्वव्यापी रूपमा फैलिएको छ ।