प्रदर्शनकारीमाथि सेनाले गोली चलाए पछि सुडानका प्रधानमन्त्रीद्वारा राजीनामा
डेटूडे खबर डेस्क
१९ पौष २०७८
एजेन्सी
जनकपुरधाम, १९ पुस । सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले पदबाट राजीनामा दिनु भएको छ । केही हप्ता अघि मात्रै सेनासँग विवादास्पद सम्झौता गरेका उहाँले अहिले पदबाट राजीनामा दिनु भएको हो । सुडानमा विरोध प्रदर्शन बढ्दै गए पछि उहाँको राजीनामा आएको हो । प्रदर्शनकारीले विवादास्पद सम्झौताको खारेजीको माग गर्दै आएका थिए ।
प्रदर्शनकारीमाथि सेनाले गोली चलाए पछि उहाँको राजीनामा आएको बीबीसीले जनाएको छ । सेनाको गोली लागेर दुई जनाको ज्यान गएको पुष्टि भएको छ । गएको अक्टोबरदेखि अहिलेसम्म सेनाको गोली लागेर ५६ जनाको ज्यान गइसकेको छ । प्रधानमन्त्री ह्यामदकले सुडान अहिले कठिन मोडमा आइपुगेकाले शान्तिको मार्गका लागि आफूले राजीनामा दिएको प्रतिक्रिया दिनु भएको छ । देशमा भइरहेको हिंसा रोक्न आफूले सक्दो प्रयास गरे पनि सफल नभएको उहाँको भनाइ छ ।
गएको अक्टोबर महिनामा सेनाले सत्ताच्युत गरेका सुडानका प्रधानमन्त्री ह्यामदक केही समय पछि पुनः प्रधानमन्त्री बन्नु भएको थियो । सेनाले अपदस्थ गरे पछि ह्यामदकलाई सेनाले घरमै नजरबन्दमा राखेको थियो । सेनाको कदमको विरोधमा राजधानी खार्तुमलगायत देशका प्रमुख सहरमा विशाल प्रदर्शन भएका थिए ।त्यसको केही समय पछि सेनासँग सम्झौता गर्दै उहाँ फेरि प्रधानमन्त्री बन्नु भएको थियो ।