\'महिला माथि हुने हिंसा\' कहिले अन्त्य हुन्छ त?

  डेटूडे खबर डेस्क
  २२ पौष २०७८

                            

जनकपुरधाम, २२ पुष ।

महिला र पुरुष समाजका समान सदस्य भएता पनि विद्यमान रुढिवाढी सोच, पितृ सत्तात्मक सोच मूल्य मान्यताले गर्दा महिला माथि भेदभाव र दुराचार भएको देखिन्छ ।

राष्ट्रको समग्र विकासमा महिला र पुरुषको समान सहभागिता अति आवश्यक छ तर सामाजिक विभेद रीतिरिवाजले असमानता विद्यमान नै देखिन्छ । जसले गर्दा महिला घर देखी बाहिर सम्म हिंसा सहनुपर्ने बाध्यता देखिन्छ । शिक्षा देखी पालन पोषण, खानपान हक अधिकार सबैमा भेदभाव भएको देखिन्छ । दु:खका साथ भन्नुपर्दछ कि अहिलेको आधुनिक युगमा पनि जहाँ नयाँ-नयाँ प्रविधि सोचको विकास भयो तर महिला पुरुष एकै हो र यो दुबैको हक एवं अधिकार समान नै हो भन्ने सोचमा परिवर्तन भएको छैन । अहिले पनि प्रविधिको दुरुपयोग गरेर गर्भमा रहेको छोरीलाई छोराको चाहनाले गर्भपतन गराउने जस्ता कार्यहरु समाजमा विद्यमान रहेको अवस्था छ । यदि गर्भमा छोरा छन् भने खानपान हेरचाहमा बढि ध्यान दिने तथा जन्म पश्चात छोरालाई बढि पोसीलो खाना, स्याहार सुसार, माया स्नेह गरेको देखिन्छ।

शिक्षाकै कुरा गर्नु पर्दा छोराको शिक्षामा घर-घडेरी बेचेर पनि उच्च शिक्षा आर्जन गराउने तर छोरी भएकै कारण उच्च शिक्षा त के आधारभूत पनि नदिई घर चुलोको काममा लगाउँने गरेको पाइन्छ । छोरीको शिक्षामा लगानि गर्नु व्यर्थ हो भन्ने जस्ता नकारात्मक सोच अहिले पनि देखिन्छ ।छोरीले शिक्षा आर्जन गर्ने समयमा वालविवाह भएको गरेको देखिन्छ ।  जबकि वालविवाह सामाजिक अपराध हो । विवाह गर्दा कानूनले तोकेको उमेर अर्थात २० वर्ष भन्दा कम उमेरका केटा केटीको विवाह गराएमा त्यसलाई वालविवाह, सो कार्य गर्ने गराउनेलाई कानून बमोजिम सजाय हुने कानूनमै उल्लेख गरिएको छ । यी सम्पूर्ण कुराको ज्ञान भए पनि वालविवाहमा केही कमि आएपनि अनत्य भएको देखिदैन । महिला हिंसाको जब कुरा उठ्छ, जति भन्दा पनि कम लाग्छ, घर देखि वाहिर सम्म दिनहु गाली बेइजति, जबरजस्ती करणी, यौनजन्य दुर्व्यवहार, एसिड आक्रमण, चेलिबेटी बेचबिखन ओसारपसार,  खान लाउन नदिने, दाइजो कम ल्याएको भनेर कुटपिट गर्ने, दिनहु यातना दिने जस्ता महिला जाति हिंसाको सिकार भएको देखिन्छ । बोक्सीको आरोप लगाएर महिलालाई निर्घात रुपमा कुटपिट गर्ने, मलमुत्र खुवाउँने, कपाल काटने आदि ईत्यादि घटनाहरु आफ्नो आखाले हेर्दा, कानले सुन्दा मनै पिरोल्छ जिउँ सिरिङ्ग हुन्छ ।

यति धेरै पिडा, अपमान र भेदभाव गरेको हेर्दा सुन्दा लाग्छ कि महिलाको जन्म नै अभिश्राप हो आखिर कहिले महिला हिंसा भन्ने शब्दको अन्त हुन्छ त?

आजको एकाइसौ शताब्दीमा आइपुग्दा पनि महिलाहरु एउटा बस्तुको रुपमा प्रयोग हुने, बेचिने गरेको उदाहरण नभएको होइनन् । यस्ता कैयौ घटनाहरु विकृतिहरु हाम्रो घर, समाजमा घटेको रहेको सुनिन्छ र देखिन्छ ।

यस्ता विकृति, लैंगिक भेदभाव अनत्य गर्नको लागि महिलाको लागि शिक्षामा पहुँच, कुसंस्कारको रुपमा रहेको वालविवाह तथा अनमेल विवाह प्रथाको अन्त्य गरिनुपर्छ । त्यसका लागि महिला हिंसा विरुद्ध बनेको राष्ट्रिय कानूनको प्रभावकारी कार्यान्वयनसँगै बोक्सी प्रथा र घरेलु तथा महिला हिंसा विरुद्धको कडा कानूनको निर्माण, दाइजो लिने र दिनेलाई कडाभन्दा कडा कारवाही गरी कुनै पनि खालका भेदभाव गर्ने विरुद्ध कडा भन्दा कडा दण्ड सजायको व्यवस्था हुन सके मात्र महिला माथि हुने हिंसा न्यून एवं अनत्य गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट