हिंसा अन्त्य गर्न रुसी राष्ट्रपति पुटिनलाई भारतीय प्रधानमन्त्री मोदीको आग्रह
डेटूडे खबर डेस्क
१३ फाल्गुण २०७८
जनकपुरधाम । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई तत्काल हिंसा अन्त्य गर्न आग्रह गर्नुभएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि भारतीय प्रधानमन्त्री मोदीले पुटिनलाई टेलिफोन गरेर हिंसा अन्त्य गर्न आग्रह गर्नुभएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।
भारतको प्रधानमन्त्री कार्यालयले निकालेको विज्ञप्तिमा सबै पक्षलाई मिलेर कुटनीतिक वार्ता एवम् छलफलको बाटोमा आउन अपिल गरेको उल्लेख छ । भारतले रुस र नेटोबीच भइरहेकाे मतभेदलाई इमानदारितापूर्वक छलफल गरेर मात्रै समाधान गर्न सकिने भन्दै आएको पनि मोदीको भनाइ छ । रुस–युक्रेन युद्धमा भारतले अहिलेसम्म कसैको पनि पक्ष लिएको छैन ।
यस्तै फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रो र पुटिनबीच पनि टेलिफोनमा कुराकानी भएको छ । कुराकानीमा म्याक्रोले युक्रेनमा भइरहेको सैन्य कारबाही तत्काल अन्त्य गर्न आग्रह गर्नुभएको छ । सैन्य कारबाही भइरहेमा रुसविरुद्ध व्यापक प्रतिबन्ध लगाइने समेत म्याक्रोले बतानुभयो ।
यस्तै इरानका राष्ट्रपति इब्राहिम रइसीले पुटिनलाई फोन गरेर पूर्वतर्फ नेटो फौजको विस्तार हुँदा कैयौँ क्षेत्र र देशको सुरक्षा जोखिममा परेको बताउनुभएको छ ।
युक्रेनमाथि रुसी आक्रमणको दोस्रो दिन आज शुक्रवार पनि राजधानी किएभमा विस्फोटहरू भइरहेका छन् । अहिलेसम्म सेना र सर्वसाधारण गरी एक सय ३७ जना युक्रेनीले ज्यान गुमाएका विवरण प्राप्त भएको बीबीसीले जनाएको छ । युक्रेनको राजधानी किएभभरि खतरा जनाउने साइरन बजेको सुनिएको छ ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीलाई सम्बोधन गर्दै युद्ध अन्त्य गर्न रुसले कुरा गर्नुपर्ने बताउनुभएको छ ।